काठमाडौँ । परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा देखिएको द्वन्द्वका कारण ट्रान्जिटमा रोकिएका नेपाली नागरिकहरूको व्यवस्थापन सम्पन्न भइसकेको जनाएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित दूतावासहरूको समन्वयमा ट्रान्जिटमा रहेका सबै नेपालीलाई आ-आफ्नो गन्तव्यतर्फ पठाइसकिएको जानकारी दिए। उनका अनुसार हालको अवस्थामा ट्रान्जिटमा कुनै पनि नेपाली समस्यामा रहेको विवरण प्राप्त भएको छैन।
मन्त्रालयका अनुसार जेद्दामा समस्यामा परेका ५२ जना हजयात्रीको समेत व्यवस्थापन गरी स्वदेश फर्काइएको छ।
द्वन्द्वका कारण नेपाली नागरिकमा पर्न सक्ने सम्भावित प्रभावलाई ध्यानमा राख्दै दूतावासमार्फत सम्बन्धित देशका निकायसँग निरन्तर समन्वय र सूचना संकलन भइरहेको प्रवक्ता पौडेलले बताए।
यसैबीच, पश्चिम एसियामा रहेका नेपालीको अवस्था बुझ्न सञ्चालन गरिएको अनलाइन दर्ता प्रणालीमा हालसम्म ८२ हजारभन्दा बढीले विवरण प्रविष्ट गराएका छन्। तीमध्ये करिब ६ हजार जनाले आफूलाई असुरक्षित महसुस गरेको जनाए पनि पछिल्लो समय यस्तो विवरण दिने संख्या घट्दो रहेको मन्त्रालयको भनाइ छ।
त्यसैगरी, द्वन्द्वसम्बन्धी सामग्री सामाजिक सञ्जालमा प्रकाशन गरेको आरोपमा केही नेपाली नागरिक कारबाहीमा परेको जानकारीसमेत प्राप्त भएको मन्त्रालयले जनाएको छ।







