काठमाडौँ । इरानले खाडी क्षेत्रमा युद्ध अन्त्य गर्न अमेरिकाले पठाएको प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ । तर जारी क्षेत्रीय द्वन्द्वलाई कम गर्न वार्ता गर्ने कुनै मनसाय नभएको उसले स्पष्ट पारेको छ ।
यो कुरा इरानका विदेशमन्त्री अब्बास अरघचीले बताएका हुन् । उनको यो भनाइले, आफ्ना मागहरू पूरा भएमा इरान युद्ध अन्त्यका लागि वार्ता गर्न तयार हुन सक्ने संकेत दिएको रोयटर्सले जनाएको छ ।
‘यो इरानको प्रारम्भिक नकारात्मक प्रतिक्रियाभन्दा फरक हो, किनकि यसअघि इरानी अधिकारीहरूले अमेरिकासँग वार्ताको सम्भावनालाई सार्वजनिक रूपमा अस्वीकार गरेका थिए,’ रोयटर्सले लेखेको छ ।
राज्य टेलिभिजनसँग कुरा गर्दै इरानका विदेशमन्त्री अरघचीले अमेरिकाको प्रस्ताव इरानको उच्च नेतृत्वले विचार गरिरहेको बताएका छन् । तर प्रत्यक्ष संवादको कुनै सम्भावना उनले अस्वीकार गरे । ‘मध्यस्थमार्फत सन्देश आदानप्रदान हुनु भनेको अमेरिकासँग वार्ता गर्नु होइन,’ उनले भनेका छन् ।
उनले वासिङ्टनले विभिन्न मध्यस्थमार्फत सन्देश पठाइरहेको पुष्टि गरे, तर तेहरानले यसलाई औपचारिक संवादका रूपमा नहेरेको उनले स्पष्ट पारे । ‘सन्देशमार्फत केही प्रस्तावहरू आएका छन्, जुन उच्च निकायसम्म पुर्याइएको छ, आवश्यक परे उनीहरूले आधिकारिक धारणा सार्वजनिक गर्नेछन्,’ उनले भने ।
अरघचीले इरानले दीर्घकालीन द्वन्द्व नचाहेको तर आफ्नै सर्तमा स्थायी समाधान खोजिरहेको बताए । ‘इरान युद्ध चाहँदैन, यो द्वन्द्वको स्थायी अन्त्य चाहन्छ,’ उनले भने।







