काठमाडौँ। लामो समयदेखि सम्पर्कविहीन भएका प्रमुख प्रशासकीय अधिकृतलाई नगर प्रमुखले पालिकामा हाजिर हुन आउन अनुरोध गरेका छन् ।
चितवनको राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले आज फेसबुक मार्फत एक भावुक स्ट्याटस लेख्दै लामो समयदेखि सम्पर्कविहीन भएका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलाई हाजिर हुन आउन अनुरोध गरेका हुन । उनले नगरका कामकाज प्रभावित भएको उल्लेख गर्दै तत्काल कार्यालयमा फर्केर काममा जुट्न अनुरोध गरेका छन्।
यसअघि पनि प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेपछि नगर प्रमुखले फागुन २५ गते सूचना जारी गर्दै २४ घण्टाभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएका थिए। उक्त सूचनामा अनुपस्थितिको कारण र आधिकारिक जानकारीबारे स्पष्टीकरण माग गरिएको थियो।
तर त्यसपछि पनि अधिकृत कार्यालयमा उपस्थित नभएपछि नगर प्रमुख लामाले आज सामाजिक सञ्जालमार्फत पुनः अपिल गरेका हुन्। उनले लेखेका छन्, “धेरै भयो नगरपालिकामा नबस्नु भएको, अब त घर बस्दा पनि दिक्क लागेको होला। नगरका धेरै जनताको काम अपुरा छन्, नगर ठप्प भएको छ। आउनुस्, काम गर्नुस्। कानुनअनुसार काम गरौँ, जनतालाई खुशी पारौँ।”
पालिकाभित्र राजनीतिक खिचातानी
नगर प्रमुख लामाले पालिकाभित्र राजनीतिक खिचातानीका कारण समस्या उत्पन्न भएको बताए । उनले पालिकामा फरक-फरक राजनीतिक दलका जनप्रतिनिधि रहेको र बहुमत एमालेको रहेको उल्लेख गर्दै प्रशासनिक नेतृत्वमा राजनीतिक प्रभाव परेको दाबी गरेका छन्।
उनका अनुसार, संघीय तहबाट पठाइने प्रमुख प्रशासकीय अधिकृतहरूमा समेत राजनीतिक प्रभाव देखिएको र त्यसले स्थानीय तहको कामकाज प्रभावित भएको छ। आफूलाई असफल बनाउन खोजिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र केही जनप्रतिनिधिले असहयोग गरेका कारण नियमित नगरसभा, कार्यपालिका बैठक तथा नगर परिषद् बस्न नसकेको उनले बताए । उनका अनुसार नीति तथा कार्यक्रम कार्यान्वयनमा समेत अवरोध आएको थियो ।
यसअघि आन्तरिक विवादकै कारण नगर प्रमुख लामाले उपप्रमुखलाई कार्यवाहक जिम्मेवारी दिएका थिए। तर जनताको मागपछि उनी फागुन ८ गते पुनः कार्यालय फर्किएका थिए। नगर प्रमुखका अनुसार आफू कार्यालय फर्किएको भोलिपल्टदेखि नै प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा अनुपस्थित छन्।
“उहाँले बिदा लिएको बारे आधिकारिक जानकारी छैन,” उनले भने। पालिकाभित्रको असहयोगका कारण जनताको काम गर्न नसकिएको भन्दै उनले गुनासो गरेका छन्।








