काठमाडौँ । कर्मचारीतन्त्रका कारण प्रशासनिक अवस्था कमजोर बनेको भन्दै सत्तारूढ दलका सांसदले सुधारको माग गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले त्यसको जड नै राजनीतिक दलहरू भएको टिप्पणी गरेका छन्।
मंगलबार आयोजित छलफलका क्रममा एमालेका सांसद ऐनबहादुर महरले कर्मचारीतन्त्रकै कारण समग्र प्रणाली कमजोर बनेको उल्लेख गर्दै सुधारका लागि सरकारको ध्यानाकर्षण गराएका थिए। उनले प्रशासनिक संरचनामा देखिएका समस्या समाधान नगरेसम्म सुशासन सम्भव नहुने धारणा राखेका थिए।
सांसदको उक्त भनाइमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री शाहले समस्या केवल कर्मचारीतन्त्रमा सीमित नभई यसको मूल कारण राजनीतिक नेतृत्वमै रहेको संकेत गरे। “यसको जड नै तपाईंहरू हो । कांग्रेस र एमालेले नै यसबाट सुरु गर्नुस्,” प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै एक सहभागीले जानकारी दिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई राजनीतिक दलहरूको भूमिका र जिम्मेवारीप्रति प्रत्यक्ष प्रश्नका रूपमा हेरिएको छ। प्रशासनिक क्षेत्रमा देखिँदै आएको हस्तक्षेप, दबाब र राजनीतिक प्रभावका कारण कर्मचारीतन्त्र कमजोर बनेको विषयमा बहस भइरहेका बेला उनको टिप्पणीलाई अर्थपूर्ण रूपमा लिइएको छ।
छलफलमा सहभागी अन्य सांसदहरूले प्रशासनिक सुधार, पूर्वाधार विकास तथा क्षेत्रगत विषय पनि उठाएका थिए। प्रधानमन्त्री शाहले यस्ता विषयमा आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।







