काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउन उत्कृष्ट कार्य गर्ने निर्वाचन प्रहरी, विपद्को समयमा उद्धारमा सहयोग पुर्याउने स्वयंसेवक र विपद् सूचकहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. ७, बैद्यनाथ बाहिनी मुख्यालय कैलालीको २५औँ वार्षिकोत्सवको अवसरमा चैत्र २२ गते आयोजित कार्यक्रममा डिआइजी तथा प्रवक्ता विष्णु प्रसाद भट्टका अनुसार महानिरीक्षक अर्यालले उनीहरूलाई सम्मानित गरेका हुन्।
उत्कृष्ट कार्य गर्ने निर्वाचन प्रहरीले बैतडी जिल्लाको दशरथचन्द्र नगरपालिका-४, विरेन्द्र माध्यमिक विद्यालय साईलेक मतदान केन्द्रमा अपांग र वृद्धवृद्धालाई मतदान केन्द्रसम्म सुरक्षित रूपमा पुर्याउन योगदान दिएका थिए।
विपद् स्वयंसेवकले विपद्को समयमा डुवानमा परेका व्यक्तिहरूलाई जोखिम मोडमा समेत सुरक्षित स्थानमा पुर्याउन महत्त्वपूर्ण भूमिका निभाएका थिए। त्यस्तै, विपद् सूचकहरूले विभिन्न आपत्कालीन घटनामा समयमै सशस्त्र प्रहरीलाई जानकारी दिँदै उद्धारमा सक्रिय सहयोग पुर्याएका थिए।
सशस्त्र प्रहरी बल नेपालले देशभर १,११४ जनालाई तालिम प्रदान गरी समुदाय स्तरमा विपद् स्वयंसेवक तयार पारेको छ। यसैगरी प्रत्येक वडामा २५ जनाको दरले तयार गरिएको विपद् सूचक समूहमार्फत हाल ६,७४५ वडामा १,६८,५७५ जना विपद् सूचकलाई उद्धार र सचेतना कार्यका लागि तयार पारिएको छ।







