काठमाडौँ । कोशी प्रदेश सभाको हिउँदे तथा आठौँ अधिवेशन सोमबार समाप्त भएको छ। प्रदेश सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन सोमबार राति १२ बजेदेखि समाप्त हुने गरी निर्णय गरेका हुन्।
अधिवेशन समाप्त गर्न अघि सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख समक्ष औपचारिक सिफारिस गरेको थियो।
जेन जेड आन्दोलनका क्रममा प्रदेश सभा भवन र सचिवालयमा आगजनी हुँदा बैठक सञ्चालनमा समस्या देखिएको थियो। त्यसपछि माघ २५ गतेदेखि विराटनगरको वीरेन्द्रसभा गृह भाडामा लिएर अधिवेशन आह्वान गरिएको थियो।
दुई महिनासम्म चलेको हिउँदे अधिवेशनले तीन विधेयक पारित गरेको कोशी प्रदेशसभा सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०६९ संशोधन विधेयक, प्रदेश विधायनसम्बन्धी व्यवस्थाका लागि विधेयक र कोशी प्रदेश आम-सञ्चार व्यवस्थापन विधेयक पारित भएका हुन् ।
अधिवेशनको अवधिमा १५ बैठक सम्पन्न भएका थिए। ‘शून्य समय’ मा ८३ जना सांसदले मन्तव्य राखेका थिए भने ‘विशेष समय’ प्रयोग गरेर १९ जना सांसदले छलफल गरेका थिए।







