काठमाडौँ । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले भारतीय नम्बर प्लेट भएका सवारीसाधन नेपाल प्रवेशसम्बन्धी विद्यमान व्यवस्थाको कार्यान्वयन प्रभावकारी हुन नसकेको विषय उठाएकी छन्।
संसद् बैठकमा आफ्नो धारणा राख्दै उनले एक दिने ‘गेट पास’ लिएर नेपाल भित्रिने सवारीसाधन तोकिएको समयपछि फिर्ता हुनुपर्ने प्रावधान भए पनि व्यवहारमा त्यस्ता सवारी नेपालभित्रै दीर्घकालीन रूपमा सञ्चालन भइरहेको अवस्था रहेको उल्लेख गरिन्।
उनका अनुसार यस्तो प्रवृत्तिले नियमन प्रणालीलाई कमजोर बनाउनुका साथै उच्च भन्सार तिरेर नेपाली नम्बर प्लेटमा दर्ता भएका सवारीसाधनलाई प्रतिस्पर्धात्मक असर पारिरहेको छ।
डाँगीले सीमापार सवारी आवागमनसम्बन्धी व्यवस्थामा देखिएका यस्ता व्यावहारिक चुनौतीका कारण दुर्घटना हुँदा क्षतिपूर्ति सुनिश्चित गर्नसमेत जटिलता उत्पन्न हुने गरेको औँल्याइन्। साथै, सम्बन्धित निकायले नीतिको प्रभावकारी कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने आवश्यकता उनले जोड दिइन्।







