काठमाडौँ । राष्ट्रपति चुरे-तराई-मधेश संरक्षण कार्यक्रमका अध्यक्ष र सदस्यहरूको निर्धारित कार्यकाल पूरा भएको छ। अध्यक्ष किरण पौडेलसहित सदस्य कमला ओली शिवाकोटी र सुस्मिता ढकालको पदावधि समाप्त भएको हो।
समितिका पदाधिकारीहरू तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यकालमा नियुक्त भएका थिए र कार्यकालका क्रममा विभिन्न प्रशासनिक तथा कार्यक्रमगत चुनौतीहरू सामना गरेका थिए।
कार्यकाल पूरा भएका पदाधिकारीहरूको सम्मानमा समितिले एक बिदाइ कार्यक्रम आयोजना गरेको थियो, जसमा सदस्य सचिव गणेश पौडेलसहित कर्मचारीहरूले उनीहरूलाई औपचारिक रूपमा बिदाइ गरेका छन्।
समितिमा ५ जना सदस्य रहने व्यवस्था रहेको छ। यसअघि सदस्य भेषराज आचार्य र शशिकुमार साहको योग्यता नपुगेको भन्दै उच्च अदालत पाटनले पदमुक्त गर्ने निर्णय गरेको थियो।
वन तथा वातावरण क्षेत्रको यस संस्थामा पदाधिकारीहरूको कार्यकाल पाँच वर्षको हुन्छ र उनीहरूले राज्यमन्त्री वा सो सरहको सेवा सुविधा पाउँछन्। नयाँ सरकार समितिको संरचना र सदस्य नियुक्ति प्रक्रिया पुनः समीक्षा गर्ने कि परम्परागत राजनीतिक नियुक्ति गर्ने भन्ने विषयमा प्रारम्भिक चर्चा भएको छ।







