काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।
हालै स्वास्थ्य उपचारका क्रममा अस्पतालमा भेट भए पनि त्यस भेटमा राजनीतिक एकता सम्बन्धी कुनै पनि प्रकारको कुराकानी नभएको उनको प्रस्टोक्ति रहेको छ ।
एमाले नेता विशाल भट्टराईका अनुसार अध्यक्ष ओलीसँग भेटपछि गरिएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो । भट्टराईले हालै शल्यक्रिया गरिएका ओलीको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको र उनी चाँडै नै सक्रिय राजनीतिक भूमिकामा फर्किने तयारीमा रहेको उल्लेख गरेका छन् ।
उनका अनुसार अस्पतालबाट डिस्चार्ज भएको भोलिपल्ट निवासमा पुग्दा पनि ओलीको स्वास्थ्य अवस्था सन्तोषजनक देखिएको थियो । उमेर र स्वास्थ्य चुनौतीका बाबजुद पनि उनी उत्साही र सक्रिय देखिएको अनुभव उनले साझा गरेका छन् ।
भट्टराईले ओलीको पित्तथैलीमा २४ मिलिमिटरको पत्थरी देखिएपछि शल्यक्रिया गरिएको तथा सोही क्रममा हर्नियाको पनि उपचार गरिएको जानकारी दिएका छन् । आईसीयूमा रहँदा पनि सामान्य अवस्थामा देखिएको र डिस्चार्जपछि निवासमै हिँडडुल गरिरहेको देख्दा आफूलाई सकारात्मक अनुभूति भएको उनको भनाइ छ ।
ओलीको आत्मबल नै स्वास्थ्य सुधारको प्रमुख आधार बनेको भट्टराईको मुल्यांकन छ । भेटका क्रममा अध्यक्ष ओलीले पार्टी एकतासम्बन्धी आफ्नो दृष्टिकोण स्पष्ट पार्दै एमालेको विचारधारा, नीति र संगठनात्मक आधार स्वीकार गर्ने पक्षसँग मात्र सहकार्य सम्भव हुने धारणा राखेका छन् । वैचारिक तथा सांगठनिक समानता बिना कुनै पनि एकता सम्भव नहुने उनको भनाइ रहेको छ ।
त्यसैगरी, एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनले निर्धारण गरेको नीति र नेतृत्व स्वीकार गर्ने समूहसँग मात्र सहकार्यको सम्भावना रहने उनले स्पष्ट पारेका छन् ।
स्वास्थ्य लाभपछि पूर्ण रूपमा सक्रिय राजनीतिमा फर्किएर पार्टी गतिविधि र जनस्तरमा विश्वास तथा आशा पुनः स्थापित गर्ने कार्यक्रम अघि बढाउने तयारीमा रहेको पनि उनले बताएका छन् ।
यसै सन्दर्भमा आफूविरुद्ध भएका गतिविधिलाई प्रतिशोधपूर्ण भएको उल्लेख गर्दै उनले न्यायिक प्रक्रियाले सत्यको पक्षमा निर्णय दिएको धारणा व्यक्त गरेका छन् । साथै, आफ्नो विरुद्ध उठाइएका आरोपहरूको निष्पक्ष परीक्षणका लागि आफूहरू तयार रहेको सन्देशसमेत दिएका छन् ।







