काठमाडौँ । निजामती सेवाबाट राजीनामा दिएका शाखा अधिकृत गणेश घिमिरेले आफ्नो सरुवा प्रक्रियालाई ‘सेटिङमा बदनियत पूर्वक गरिएको जबरजस्ती खटाइ’ भएको आरोप लगाएका छन्। प्रशासन डटकमसँगको कुराकानीमा उनले उक्त निर्णयको प्रतिरोध स्वरूप आफूले पद त्याग गरेको बताएका हुन्।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा कार्यरत घिमिरेको हालै अछाम सरुवा गरिएको थियो। सोही निर्णयप्रति असहमति जनाउँदै उनले सोमबार राजीनामा दिएका थिए।
कुराकानीमा उनले स्थानीय तहमा सरुवा हुनु स्वाभाविक प्रक्रिया भएको स्पष्ट पार्दै भने, “पालिकामा सरुवा जानु ठुलो कुरा होइन, यसअघि पनि पालिकामा काम गरिसकेको हो।” तर, यस पटकको सरुवा भने नियमित नभई ‘सेटिङमा गरिएको’ दाबी उनले गरेका छन्।
“सामान्य प्रशासन मन्त्रालयले बदनियत पूर्वक जबरजस्ती खटाउन खोजेपछि त्यसको प्रतिरोध गर्न राजीनामा दिएको हुँ,” उनले भने, “सार्वजनिक प्रशासन रूपान्तरण अभियानले उठाएका मुद्दाहरूलाई तर्साउने, धम्काउने र डिसमिस गर्ने प्रवृत्तिविरुद्ध अब झन् सशक्त रूपमा आवाज उठाउन आवश्यक देखेँ।”
घिमिरेले कर्मचारी व्यवस्थापन प्रणालीमै गम्भीर समस्या रहेको दाबीसमेत गरेका छन्। उनका अनुसार करिब २० प्रतिशत कर्मचारीको व्यक्तिगत विवरण प्रणाली (पीआइएस) नमिलेको अवस्था छ भने कतिपय कर्मचारीहरू जिन्दगीमा काठमाडौँ नै नछोडेका पनि रहेको भन्दै उनले थपे-“मेरो सरुवाको विषय मात्रै होइन, समग्र प्रणाली सुधार र अभियानलाई सशक्त बनाउनका लागि राजीनामा दिएको हो,”
घिमिरे ‘जेन जेड’ कर्मचारीको समूहसहित सार्वजनिक प्रशासन रूपान्तरण अभियान-२०८२ सञ्चालन गर्दै आएका थिए।








यो फटाहा! आफ्नो स्वार्थ पूर्ति भएन अनि सम्पूर्ण निजामती प्रशासन र कर्मचारीलाई दोष लगाउँछ।
भ्रष्टाचार गर्ने र भ्रष्टाचार गर्न सिकाउने तथा देशलाई याे हालतमा पु-याउने यिनै हुन। दिन अाउला, हेर्दै जाउं।
मन्त्रि र कर्मचारीहरू अाफूलाई अनुकुल हुन्जेल चुप लागेर बस्ने जब प्रतिकुल ठाउमा सरूवा भयाे भने र अबकाश भए पछि नाना भातीकाे गफ गर्ने,यसाे गर्नु पर्छ र उसाे गर्नु पर्छ भनेर सुझाव दिने पुरानै चरित्र हाे र फलविहिन(Returnless) फाेस्राे गफ मात्र हाे।