काठमाडौँ । चिनियाँ वाणिज्य मन्त्रालयको निमन्त्रणामा दुई प्रदेश सभा सदस्यसहित ६ जना युवा नेताको प्रतिनिधिमण्डल चीनतर्फ प्रस्थान गरेको छ।
मंगलबार देशबाट उडेको उक्त टोलीले बेइजिङ र हेनान प्रान्तमा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने कार्यतालिका रहेको छ। भ्रमण अवधि करिब दुई साता रहने जनाइएको छ।
प्रतिनिधिमण्डलमा लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्री र निमा गिरीका साथै राष्ट्रिय युवा परिषद्का पूर्व उपाध्यक्ष सुरेन्द्र बस्नेत, अनेरास्ववियुका नेता रक्षा बम, उमानाथ निरौला र शैलेस तिमिल्सिना सहभागी छन्।
टोलीका सदस्य बस्नेतका अनुसार भ्रमण अवधिमा दिगो विकास, जैविक विविधताको संरक्षण तथा वनसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन जस्ता विषयमा केन्द्रित अन्तरक्रिया तथा छलफलमा सहभागी हुने कार्यक्रम तय गरिएको छ।







