२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै कुराको जग शिक्षा, शिक्षाकै जग बनाउन कस्सिएको महालक्ष्मी नगरपालिका

अ+ अ-

विकासदेखि नागरिकको आर्थिक उत्थानसम्म सबै कुराको जग हो -शिक्षा । ललितपुरको महालक्ष्मी नगरपालिका यही मान्यतालाई मन्त्र बनाएर अघि बढेको छ जहाँ सबै वर्ग, समुदाय र विशेष क्षमता भएका विद्यार्थीलाईसमेत शिक्षामा समान पहुँच सुनिश्चित गरिँदै छ ।

काठमाडौँ । ‘सरकार कहाँ छ ?’, ‘सरकारले के पो गरेको छ र ?’, ‘अब गाउँ–गाउँमै सिंहदरबार भन्थे, हामीले कतै सिंहदरबारको अनुभूति गरेनौँ ।’संघीय सरकार, प्रदेश सरकार र नागरिकको घरदैलोका सरकार भनिने स्थानीय सरकारबारे प्राय: जनस्तरमा यस्ता टिकाटिप्पणी सुनिने गर्छन् । तर कुनै–कुनै स्थानीय सरकार यस्ता पनि छन् जहाँ भएका राम्रा कामको चर्चा गर्दा एकपटक होइन, पटक–पटक तिनको नाम अगाडि आउँछ । ललितपुरको महालक्ष्मी नगरपालिका तिनैमध्येको हो । हो, यो नगरपालिकाले शिक्षाको जग बसाउन, शिक्षा क्षेत्रको समग्र व्यवस्थापन गर्न र त्यसलाई विकास तथा नागरिकको जीवनको गुणस्तर सुधारमा जोड्न उदाहरणीय काम गरिरहेको छ । त्यहीकारण त यो नगरपालिकाले आफ्नो शिक्षा प्रणालीलाई योजनाबद्ध, व्यवस्थित र समृद्ध बनाउने बाटोमा पाइला बढाइरहेको छ ।

शिक्षा सुधारको यात्रा
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई आवधिक तथा विषयगत योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । सोही अनुरूप स्थानीय तहको शिक्षा योजना निर्माण सम्बन्धी मार्गदर्शन २०७९ (परिमार्जित संस्करण २०८१) लाई आधार मानेर योजना निर्माण तथा कार्यान्वयनमा काम गरिरहेको महालक्ष्मी नगरपालिकाले शिक्षा क्षेत्रका विभिन्न सूचकहरूमा उल्लेख्य प्रगति हासिल गरेको छ ।

नगरपालिका प्रमुख हरिगोविन्द श्रेष्ठका अनुसार योजना निर्माण तथा तिनको प्राथमिकतापूर्ण कार्यान्वयन, योजना निर्माण र कार्यान्वयनमा सरोकारवालाको सक्रिय सहभागिता र स्रोत साधनको अधिकतम उपयोगमार्फत नगरपालिकाले शिक्षा क्षेत्रमा सकारात्मक उपलब्धि हासिल गरिरहेको छ ।

अर्को महत्वपूर्ण कुरा, नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई केवल खर्चको रूपमा लिएको छैन । बरु यसलाई दीर्घकालीन लगानीका रूपमा आत्मसात् गरेको छ । अहिले गरिएको लगानीले भविष्यको समाज कस्तो बन्छ भनेर निर्धारण गर्ने भएकाले शिक्षा क्षेत्रमा गरिएको प्रत्येक प्रयासलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको छ । संविधानले निर्दिष्ट गरेको माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापकीय जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नगरपालिकाले आफ्नो अधिकारक्षेत्रभित्र शिक्षा विकासका विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।

शैक्षिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक नीति, ऐन, नियमावली तथा निर्देशिकाहरू निर्माण गर्ने कार्य पनि पालिकामा निरन्तर भइरहेको छ । शिक्षा हरेक नागरिकको मौलिक हक मात्र नभई समृद्धि र उन्नतिको आधार भएकाले सभ्य, सुसंस्कृत, सक्षम र लोकतान्त्रिक आचरणयुक्त नागरिक तयार पार्नु नै नगरपालिकाको प्रमुख उद्देश्य रहेको नगर प्रमुख श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार यही उद्देश्य परिपूर्तिका लागि विभिन्न शैक्षिक कार्यक्रमहरू योजनाबद्ध रूपमा सञ्चालन भइरहेका छन् । समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै नगरपालिकालाई ‘शैक्षिक हब’ का रूपमा विकास गर्ने लक्ष्यसहित नगरपालिका निरन्तर क्रियाशील छ । यस अभियानमा नगरपालिकाले अभिभावक, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता सुनिश्चित गरेको छ ।

महालक्ष्मी नगरपालिकामा आधारभूत तह र माध्यमिक तहसम्म पढाई हुने १४ सामुदायिक विद्यालय छन् । त्यस्तै, ५३ संस्थागत विद्यालय पनि छन् । संस्थागत विद्यालयमध्ये चारवटा सार्वजनिक शैक्षिक गुठी अन्तर्गत पठनपाठन हुने विद्यालय छन् । सामुदायिकतर्फ आधारभूत तहका तीन विद्यालय र माध्यमिक तहका ११ विद्यालयले शिक्षण कार्य अगाडि बढाइरहेका छन् । यहाँ चारवटा सामुदायिक सिकाइ केन्द्र र एउटा सामुदायिक क्याम्पसले पनि ज्ञानको दियो बालिरहेका छन् ।

शैक्षिक वर्ष २०८१/८२ मा महालक्ष्मी नगरपालिकाभित्र ३० हजार ११७ विद्यार्थी अध्ययनरत देखिए । यीमध्ये ८ हजार २१३ जना विद्यार्थी सामुदायिक विद्यालयमा र २१ हजार ९०४ विद्यार्थी संस्थागत (निजी) विद्यालयमा छन् । सामुदायिक तथा संस्थागत दुवै विद्यालयमा छात्रको तुलनामा छात्राको संख्या कम देखिन्छ ।

सामुदायिक विद्यालयमा ३ हजार ९९५ छात्रा र ४ हजार २१८ छात्र अध्ययनरत छन् । संस्थागत विद्यालयमा ९ हजार ७४९ छात्रा र १२ हजार १५५ छात्र छन् । दुबैमा गरेर १३ हजार ७४४ छात्रा र १६ हजार ३७३ छात्र अध्ययनरत छन् ।

नगरपालिकामा अझै पनि ११ हजार ५१० नागरिक अझै पनि साधारण लेखपढ गर्न नसक्ने अवस्थामा छन् । यो चाहिँ नगरपालिकाको शिक्षाको यात्रामा चुनौतीका रूपमा उभिएको छ । सामाजिक संरचनाको दृष्टिले हेर्दा ३० हजार ११७ विद्यार्थीमध्ये सबैभन्दा बढी २० हजार ४४८ जना जनजाति समुदायका विद्यार्थीहरू विभिन्न तहमा अध्ययनरत छन् । त्यस्तै, मधेशी समुदायका २ हजार २२० जना विद्यार्थीले विद्यालय शिक्षा लिइरहेका छन् ।

नगरपालिकामा ११७ जना अपाङ्गता भएका विद्यार्थी अध्ययनरत छन् । तीमध्ये सबैभन्दा बढी ८४ जना आधारभूत तहमा र १६ जना माध्यमिक तहमा छन् । यसले समावेशी शिक्षातर्फ नगरपालिकाले गरिरहेको पहललाई संकेत गर्छ ।

सामुदायिक शिक्षण संस्थाहरूमा आधारभूत र माध्यमिक तहका २१४ जना शिक्षक–शिक्षिका कार्यरत छन्, जसमा ६१ जना माध्यमिक तहमा र १५३ जना आधारभूत तहमा शिक्षण सिकाइ क्रियाकलापमा संलग्न छन् ।साथै ४२ जना बाल विकास सहजकर्ता र ११ जना कर्मचारी पनि शैक्षिक व्यवस्थापनलाई सुदृढ बनाउन क्रियाशील छन् ।

शिक्षा तब मात्र प्रभावकारी हुन्छ जब यो नागरिकको जीवनस्तर उकास्ने सवालमा जोडिन पुग्छ । नगरपालिकाले शिक्षित तर बेरोजगार जनशक्ति उत्पादनमा कमी ल्याउने र दक्ष जनशक्तिलाई राष्ट्र निर्माणमा प्रभावकारी रूपमा प्रयोग गर्ने लक्ष्यसहित प्राविधिक शिक्षामा विशेष जोड दिइरहेको छ । खासमा यही नै उसको शिक्षा सुधारको एउटा कडी पनि हो । यही उद्देश्यलाई आत्मसात् गर्दै नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षामा सबैको पहुँच पुर्‍याउने अभियान अघि बढाएको छ ।
यस अभियान अन्तर्गत् आफ्ना आंगिक शिक्षालय तथा सामुदायिक विद्यालयहरूमा ज्ञान, सीप तथा छोटो र मध्यम खालका तालिमहरू प्रदान गर्न थालिएको छ । यी कार्यक्रमहरूले स्थानीय युवालाई आयआर्जनका माध्यम सिर्जना गर्नुका साथै आत्मनिर्भर बन्ने बाटो देखाइरहेका छन् ।

महालक्ष्मी नगरपालिकाभित्र सामुदायिक विद्यालयतर्फ हाल कक्षा १–१० मा सञ्चालित चारवटा र १–१२ सञ्चालित सातवटा समेत माध्यमिक तहका ११ वटा विद्यालय सञ्चालनमा छन् । तीमध्ये चार विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा अन्तर्गत ‘डिप्लोमा इन सिभिल इन्जिनियरिङ’, ‘डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ’ तथा एक विद्यालयमा ‘इलेक्ट्रिकल इन्जिनियरिङ’ विषयको पठनपाठन भइरहेको छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षामा हाल ४४२ जना विद्यार्थी अध्ययनरत छन् । यसले स्थानीय स्तरमा प्राविधिक शिक्षाप्रति बढ्दो आकर्षण र विश्वासलाई संकेत गर्छ । यस क्षेत्रका वासिन्दाले प्राविधिक शिक्षाबाट प्राप्त ज्ञान र सीपका आधारमा आत्मनिर्भर र स्वरोजगार बन्ने प्रयास गरिरहेका छन् । यसले आर्थिक विपन्नता न्यूनीकरणमा केही हदसम्म सहयोग पुर्‍याएको छ ।

प्राविधिक तथा व्यावसायिक विद्यालयहरूको दिगो विकासका लागि सरोकारवाला, स्थानीय सरकार र संघीय सरकारबीच उच्च अपनत्व र सहकार्य भइरहेको, त्यो अझ धेरै मात्रामा आवश्यक देखिन्छ । नगरपालिकाको भौगोलिक बनावट, मानव बस्तीको अवस्था, हावापानी तथा उपलब्ध प्राकृतिक स्रोत–साधनहरूको सूक्ष्म विश्लेषण गर्दा यहाँ कृषि प्राविधिक विद्यालय, कम्प्युटर तथा सिभिल इन्जिनियरिङ शिक्षाको विशेष सम्भावना देखिन्छ ।

शैक्षिक विकासका दृष्टिले गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षाको केन्द्र (हब) का रूपमा विकास हुन सक्ने आधार महालक्ष्मी नगरपालिकामा प्रशस्त छन् । कृषि, पशुपालन तथा फलफूल उत्पादनको प्रचुर सम्भावनासहित ललितपुर जिल्लामै अग्रणी स्थान लिन सक्ने क्षमता राखेको यस नगरपालिकाले विद्यालय तहदेखि नै सिकाइसँगै कमाइ गर्ने सीपमूलक तथा उद्यमशीलतामा आधारित बहुप्राविधिक कार्यक्रमहरू सञ्चालन गर्न सक्ने बलियो आधार तयार गरेको छ ।

डिजिटल रूपान्तरण, गुणस्तरीय शिक्षा
महालक्ष्मी नगरपालिकाले शिक्षामा गुणात्मक सुधारका लागि डिजिटल रूपान्तरणलाई प्राथमिकता दिएको छ । र, यहीसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू तर्जुमा गरेर कार्यान्वयन गरिरहेको छ । नगर शिक्षा योजना निर्माणदेखि पूर्वप्राथमिक कक्षाहरूलाई शैक्षिक पूर्वाधारयुक्त बनाउने कार्यमा नगरपालिका लागिपरेको छ जसमार्फत् नगरपालिकाले समग्र शैक्षिक सुधारमा जोड दिइरहेको छ ।

शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि नियमित तालिम तथा पुनर्ताजगी कार्यक्रम सञ्चालन भइरहेको छ । कक्षामा डिजिटल शैक्षिक सामग्रीको प्रयोगमार्फत् सिकाइ प्रक्रियालाई आधुनिक र प्रभावकारी बनाउने प्रयास भइरहेको छ । उत्कृष्ट शिक्षक सम्मान कार्यक्रममार्फत शिक्षकहरूलाई प्रोत्साहन गर्ने व्यवस्था पनि गरिएको छ ।

विद्यार्थीको पहुँच र निरन्तरता सुनिश्चित गर्न विभिन्न छात्रवृत्ति कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ । छात्रा तथा छात्रलाई वार्षिक ६ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्ने, प्राविधिक शिक्षाका लागि वार्षिक २५ हजार रुपैयाँ, कोभिड-१९ प्रभावित विद्यार्थीका लागि २५ हजार रुपैयाँ तथा उच्च शिक्षाका लागि वार्षिक ५० हजार रुपैयाँ छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

दिवा खाजा कार्यक्रमअन्तर्गत संघीय सरकारबाट २० रुपैयाँ र नगरपालिकाबाट थप १० रुपैयाँ थपेर नगरपालिकाले विद्यार्थीलाई पोषणयुक्त खाजा उपलब्ध गराउँदै आएको छ । छात्राहरूका लागि नि:शुल्क स्यानिटरी प्याड वितरण कार्यक्रम पनि निरन्तर सञ्चालनमा रहेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार नगरपालिकाका सबै सामुदायिक विद्यालयहरूमा शुद्ध खानेपानी, छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ । त्यस्तै आइसीटी प्रयोगशाला, पुस्तकालय, विज्ञान प्रयोगशाला तथा खेलकुद र अतिरिक्त क्रियाकलापहरूलाई पनि बिस्तार गरिएको छ ।

विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रत्येक सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । साथै, विद्यालय सुधार योजना कार्यान्वयन, लेखापरीक्षण तथा सामाजिक लेखा परीक्षणमार्फत सुशासन र पारदर्शितामा विशेष जोड दिइएको नगर प्रमुख श्रेष्ठले बताए ।

‘स्मार्ट विद्यालय, स्मार्ट विद्यार्थी’ भन्ने अभियानका साथ डिजिटल महालक्ष्मी बनाउन युनिसेफ नेपालसँगको सहकार्यमा प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्मका विद्यार्थीहरुका ६७२ वटा क्रोम-ट्याबलेट वितरण गरेर डिजिटल शिक्षा प्रदान गर्न थालिएको आएको छ । त्यस्तै, शिक्षक र विद्यार्थीलाई डिजिटल साक्षरता तालिम पनि प्रदान गरिएको छ ।

सबै विद्यालयहरुमा इन्टरनेट जडान गरिएको छ । माध्यमिक विद्यालयहरुमा स्मार्ट-बोर्ड, प्रोजेक्टर, कम्प्युटर तथा डिजिटल उपकरणको व्यवस्था गरी शिक्षण सिकाइमा प्रयोग भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका भित्रका सामुदायिक बिध्यालयहरु कालीदेवी मावि, विश्वामित्र गणेश मावि, महालक्ष्मी मावि, लुभु मावि, सिद्धिमङ्गल मावि, महेन्द्रग्राम मावि, महेन्द्र आदर्श मावि, भानोदय मावि र गम्भिर समुद्र सेतु माविमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला स्थापना र बिस्तार गरिएको छ । यी प्रयोगशालाले विद्यार्थीलाई प्रविधिसँग प्रत्यक्ष रूपमा जोड्दै अनुसन्धान, अभ्यास र डिजिटल सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले शिक्षा क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई विस्तार गर्दै ‘स्मार्ट विद्यालय, स्मार्ट विद्यार्थी’ अभियानलाई पनि प्रभावकारी रूपमा अघि बढाएको छ । यस पहलमार्फत सानै उमेरदेखि विद्यार्थीलाई प्रविधिमैत्री सिकाइ वातावरणमा अभ्यस्त गराउने प्रयास गरिएको नगर प्रमुख श्रेष्ठले बताए । उनका अनुसार शिक्षक तथा विद्यार्थीलाई डिजिटल साक्षरता सम्बन्धी तालिम प्रदान गर्दै शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी र आधुनिक बनाइएको छ ।

नगरपालिकाले डिजिटल पूर्वाधार विस्तारसँगै शिक्षकको क्षमता विकासलाई पनि समानान्तर रूपमा अघि बढाउँदै आएको छ । प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाइलाई सहज, आकर्षक र प्रभावकारी बनाउने लक्ष्यसहित अघि बढाइएको यो अभियानले सामुदायिक विद्यालय शिक्षालाई आधुनिक युगअनुकूल रूपान्तरण गर्ने विश्वास लिइएको छ ।

शिक्षा सुधार: अनुगमनदेखि नतिजा-आधारित व्यवस्थापनसम्म
नगरपालिकाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर बृद्धि गर्न निरन्तर र प्रणालीगत सुधारका कार्यक्रमहरू अघि बढाएको छ । जस्तो, पालिकाभित्रका विद्यालयको प्रभावकारिता बढाउन नियमित अनुगमन तथा निरीक्षणलाई प्रमुख प्राथमिकतामा राखिएको छ । दिवा खाजा व्यवस्थापन, वार्षिक शैक्षिक योजना कार्यान्वयन, परीक्षा अवलोकन लगायतका गतिविधिमा नगरपालिकाले प्रत्यक्ष अनुगमन गर्दै आएको छ ।

नगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय सन्दर्भ, संस्कृति र आवश्यकता समेटिएको पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास गरी कार्यान्वयनमा ल्याएको छ । यसले विद्यार्थीलाई स्थानीय ज्ञानसँग जोड्दै व्यावहारिक सिकाइलाई सुदृढ बनाउने उद्देश्य राखिएको छ ।

शैक्षिक गुणस्तर सुधारलाई थप प्रभावकारी बनाउन गैरसरकारी संस्था, निजी क्षेत्र तथा पूर्वविद्यार्थीहरूसँगको सहकार्य बिस्तार गरिएको छ । यसैक्रममा विद्यालय नेतृत्वलाई जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यले प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गर्ने व्यवस्था लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगानाले बताए । उनका अनुसार यस प्रणालीले विद्यालयको नतिजा सुधारमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, तालिमप्राप्त शिक्षकहरूले आफ्ना सहकर्मी शिक्षकलाई सिकाउने प्रणालीलाई विस्तार गरिएको छ। स्रोत शिक्षक तथा प्राविधिक सहायकमार्फत कक्षाकोठामै पुगेर नियमित अनुगमन गर्ने व्यवस्था पनि प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको प्रमुख प्रशासकीय अधिकृत ढुंगाना बताउँछन् । यसले शिक्षण प्रक्रियामा सुधार ल्याउँदै विद्यार्थीको सिकाइ उपलब्धि बढाउने अपेक्षा गरिएको छ ।

नगरपालिकाले शिक्षा व्यवस्थापनलाई परिणाममुखी बनाउन डिजिटल प्रणालीको प्रयोगलाई समेत जोड दिएको छ । आइएमआइएस प्रणालीमार्फत विद्यार्थीको भर्ना, टिकाउ दर र नतिजालाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी बजेट विनियोजनसँग जोड्ने अभ्यास गरिएको छ । साथै, नगरस्तरीय परीक्षा सञ्चालन गरी विद्यालयहरूबीचको सिकाइ उपलब्धिको तुलनात्मक विश्लेषण गर्ने कार्य पनि नियमित रूपमा हुँदै आएको छ ।

कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गरेर मात्र थप बजेट निकासा गर्ने नीति अपनाइएको छ, जसले स्रोत साधनको प्रभावकारी उपयोग सुनिश्चित गर्ने पालिकाको विश्वास छ । साथै, नगर क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा शिक्षक तथा विद्यार्थीका लागि हाजिरी प्रणाली अनिवार्य गरिएको छ ।

अन्त्यमा,
महालक्ष्मी नगरपालिकाले शिक्षा क्षेत्रलाई दीर्घकालीन सामाजिक–आर्थिक रूपान्तरणको आधारका रूपमा आत्मसात् गर्दै योजनाबद्ध, समावेशी र प्रविधिमैत्री ढंगले अघि बढाएको प्रयास यहाँ स्पष्ट रूपमा देख्न र अनुभूति गर्न सकिन्छ । संवैधानिक अधिकार, कानूनी दायित्व र स्थानीय आवश्यकताबीच सन्तुलन कायम गर्दै नगरपालिकाले शिक्षा व्यवस्थापन, गुणस्तर सुधार, प्राविधिक शिक्षा बिस्तार तथा डिजिटल रूपान्तरणमा उल्लेख्य प्रगति हासिल गरेको छ ।

सामुदायिक र निजी विद्यालयबीचको सहअस्तित्व, प्राविधिक शिक्षामा बढ्दो आकर्षण, छात्रवृत्ति र समावेशी कार्यक्रमहरू तथा शिक्षक क्षमता अभिवृद्धिमा केन्द्रित पहलहरूले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तनको संकेत गरेका छन् । यद्यपि लैङ्गिक असमानता, अशिक्षा तथा समावेशीताका केही चुनौतीहरू अझै विद्यमान रहे पनि ती समस्या र चुनौतीलाई समाधानका लागि नगरपालिकाले निरन्तर प्रयास गरिरहेको देखिन्छ ।

डिजिटल शिक्षा, स्मार्ट कक्षा, आईसीटी प्रयोगशाला र प्रविधिमैत्री सिकाइको वातावरणले शिक्षालाई समयसापेक्ष र प्रभावकारी बनाउँदै लगेको छ । साथै, अनुगमन, नतिजा–आधारित व्यवस्थापन र सरोकारवालाबीचको सहकार्यले शैक्षिक सुधारलाई दिगो बनाउने आधार तयार गरेको छ । समग्रमा हेर्दा, महालक्ष्मी नगरपालिका ‘शैक्षिक हब’ निर्माणको स्पष्ट दृष्टि, प्रतिबद्ध नेतृत्व र समुदायको सक्रिय सहभागितासाथ शिक्षा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने दिशामा दृढतापूर्वक अघि बढिरहेको देखिन्छ ।

0 Comments