काठमाडौँ । खाडी तथा पश्चिम एसियाका गन्तव्यहरूमा वैदेशिक रोजगार पुनः सञ्चालनमा आएपछि श्रम स्वीकृति लिनेको संख्या तीव्र रूपमा बढ्न थालेको छ। केही समय अघिसम्म अवरुद्ध रहेको प्रक्रिया पुनः सुचारु भएसँगै श्रमिकहरूको बाहिरिने दर उकालो लागेको देखिएको हो।
वैदेशिक रोजगार विभागका अनुसार पछिल्ला दुई दिनमा मात्रै ५ हजार ७ सय ३० जनाले श्रम स्वीकृति प्राप्त गरेका छन्। तीमध्ये खाडी तथा पश्चिम एसियाका १२ देशका लागि मात्रै ३ हजार ४ सय ८३ जनाले स्वीकृति लिएका छन्।
यसअघि ती क्षेत्रका मुलुकहरूमा श्रम स्वीकृति रोकिनुका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटेको थियो। इजरायल–अमेरिका र इरानबीचको द्वन्द्वका कारण करिब दुई महिनाअघि उक्त गन्तव्यहरूमा श्रम स्वीकृति स्थगन गरिएको थियो। पछिल्लो समय युद्धविराम भई अवस्था सामान्यतर्फ उन्मुख भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः स्वीकृति प्रक्रिया खुला गरेको हो।
विभागको वैदेशिक श्रम स्वीकृति शाखाका अनुसार बुधबार मात्र २ हजार ९ सय ९६ जनाले श्रम स्वीकृति लिएका छन्, जसमा स्थगनपछि खुला गरिएका मुलुकतर्फ जाने १ हजार ८ सय ३८ जना रहेका छन्।
यसैगरी, प्रक्रिया खुला गरिएको पहिलो दिन मंगलबार २ हजार ७ सय ३४ जनाले श्रम स्वीकृति लिएका थिए। तीमध्ये १२ गन्तव्य मुलुकका लागि १ हजार ६ सय ४५ जनाले स्वीकृति प्राप्त गरेका थिए।
मन्त्रालयले यसअघि फागुन १७ गते मन्त्रिस्तरीय निर्णयमार्फत साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल लगायतका देशमा श्रम स्वीकृति अस्थायी रूपमा रोकेको थियो। अवस्था सुधार भएपछि वैशाख ७ गतेदेखि उक्त निर्णय फिर्ता लिँदै पुनः स्वीकृति खुला गरिएको हो।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल ५ लाख ८७ हजार ३ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन्। तीमध्ये ५ लाख १७ हजार ९ सय २९ पुरुष र ६९ हजार ४ सय ३ महिला रहेका छन्। चैत महिनामा मात्रै ६१ हजार ८ सय १९ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ।







