काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद् अधिवेशन स्थगन गर्ने निर्णयले राजनीतिक र संसदीय प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन्।
राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएको २४ घण्टा नपुग्दै सरकारको सिफारिसमा बैठक स्थगित गरिएपछि उनले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका हुन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पौडेलले बहुमत प्राप्त सरकारले नीति निर्माणका विषयमा संसद्लाई विश्वासमा लिएर खुला र उत्तरदायी ढंगले अघि बढ्नुपर्नेमा वैकल्पिक मार्ग रोज्न खोजिएको हो कि भन्ने आशंका उत्पन्न भएको उल्लेख गरेका छन्।
उनले सहज संसदीय अंकगणित र अनुकूल राजनीतिक अवस्था हुँदाहुँदै पनि सरकारको राजनीतिक आत्मविश्वास किन कमजोर देखिएको हो भन्ने प्रश्न समेत उठाएका छन्।
लोकतान्त्रिक शासन व्यवस्थामा विधि, प्रक्रिया र पारदर्शितालाई उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले प्रक्रिया अवलम्बन नगरी परिणाम खोज्ने प्रवृत्तिले प्रणाली र संस्थागत मर्यादालाई कमजोर बनाउने बताएका छन्।
महामन्त्री पौडेलले जनप्रतिनिधिमूलक संस्थाको गरिमा जोगाउन तथा संसद्लाई विश्वासमा लिएर पारदर्शी ढंगले काम गर्न सरकारसमक्ष आग्रह पनि गरेका छन्।







