२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाधार र सुशासन: बस्नलायक शहर बनाउन तम्सिएको महालक्ष्मी नगरपालिका

अ+ अ-

पूर्वाधार विकास तबमात्र फलदायी हुन्छन् जब तिनले आफैमा दिगोपनसँगै वातावरणीय सन्तुलन र नागरिकको जीवनलाई सहज बनाउने सामर्थ्य राख्छन् । महालक्ष्मी नगरपालिका यही अवधारणा अन्तर्गत् आधुनिक, सुरक्षित र नागरिकमैत्री शहर निर्माणमा जुटिरहेको छ ।

काठमाडौँ । ललितपुरको उत्तरपूर्वी कुनामा रहेको महालक्ष्मी नगरपालिकाको नारा र सोच नै छ- ‘स्वच्छ, सफा, समृद्ध र सुन्दर नगर ।’ यही नारा र सोचलाई नतिजामा बदल्न नगरपालिका अहिले योजनाबद्ध विकासमा जुटेको छ ।

केही वर्ष अघिसम्म यहाँ आधारभूत पूर्वाधारका चुनौतीहरू तेर्सिएका थिए । केही वर्षमै यसले ती चुनौती पन्छाएको छ र फरक परिचय बनाउन थालेको छ । अहिले यहाँका सडक बिस्तार भएर चौडा बन्दै छन् । कच्ची सडक कालोपत्रे भएका छन् । भित्री बस्तीहरू मुख्य सडक सञ्जालसँग जोडिँदै छन् । यसले स्थानीय बासिन्दाको दैनिकीमा उल्लेख्य सहजता ल्याएको छ । जसले गर्दा यात्रा गर्नुपर्ने अवधि घटेको छ, पहुँच बढेको छ, र अवसरहरू नजिकिएका छन् ।

नगरपालिका क्षेत्रमा अहिले पूर्वाधार विकाससँगै खानेपानी र सरसफाइमा पनि उल्लेख्य सुधार देखिएको छ । आधुनिक प्रणालीको बिस्तारसँगै स्वच्छ पिउने पानीको पहुँच बढेको छ भने व्यवस्थित ढल निकासले वातावरणीय स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ । यसले नागरिकको जीवनस्तर मात्र होइन, समग्र नगरको स्वास्थ्य सूचकमा पनि सुधार ल्याइरहेको संकेत गर्छ ।

महालक्ष्मी नगरपालिकाले कायम गरिरहेको उदाहरण के हो भने विकासको गति केवल संरचनामा सीमित छैन । बरु तीव्र शहरीकरणको चुनौतीलाई चिर्न नगरपालिकाले दूरदर्शी सोच र शैली अबलम्बन गरेको छ । शहरी योजना र भू–उपयोग नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अव्यवस्थित बस्ती विस्तारलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ । व्यवस्थित आवास विकास, सडक मापदण्डको कडाइका साथ पालना र सार्वजनिक स्थलहरूको संरक्षणलाई उच्च प्राथमिकतामा राखिएको छ ।

विशेषत: परम्परागत कला र संस्कृतिको संरक्षणतर्फ नगरपालिकाले महत्वपूर्ण काम गरिरहेको छ । सम्पदा बस्तीभित्र आवास निर्माण गर्दा नक्सा पास दस्तुरमा ७५ प्रतिशत छुट दिने नीति यसको ज्वलन्त उदाहरण हो । यसले आधुनिकता र परम्पराको सन्तुलन कायम राख्ने प्रयासलाई थप बल दिएको छ ।

भौतिक पूर्वाधारमा फड्को मार्दै
काठमाडौँ उपत्यकाभित्रको नगरपालिका भएर पनि महालक्ष्मीमा केही वर्ष पहिलेसम्म भौतिक पूर्वाधारको अवस्था दयनीय थियो । पछिल्ला वर्षहरूमा भने यसले पूर्वाधार विकासमा उल्लेख्य फड्को मारेको छ । चालु आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारका सशर्त, विशेष तथा समपुरक कार्यक्रमहरूको समन्वयमा सञ्चालन भएका योजनाहरूले नगरको स्वरूप नै बदलेका छन् ।

नगरपालिकाले उपल्ब्ध गराएको विवरणअनुसार सडक तथा शहरी पूर्वाधारमा केन्द्रित विभिन्न योजनाहरूले यातायात र आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान दिएका छन् । केही समय अघिसम्म पहुँच र संरचनाको अभाव झेलिरहेका क्षेत्रहरू अहिले क्रमश: आधुनिक पूर्वाधारले जोडिँदै छन् ।

यस अवधिमा करिब ९ किलोमिटर सडक ग्राभेल गर्ने कार्य सम्पन्न भएको छ । त्यस्तै, १३ किलोमिटर सडक बिस्तार (चौडा पार्ने काम) तथा पर्खाल निर्माणले सडक संरचनालाई थप मजबुत र दिगो बनाएको छ । यी कामहरूले विशेषगरी ग्रामीण तथा भित्री बस्तीहरूलाई मुख्य सडक सञ्जालसँग जोड्ने काममा टेवा पुर्‍याएका छन् ।

सडक स्तरोन्नतीमा पनि उल्लेख्य प्रगति देखिएको छ । जस्तो, ११ किलोमिटर सडक कालोपत्रे गरिएको छ भने ९ किलोमिटर क्षेत्रमा ढल तथा ड्रेन निर्माण गरिएको छ । वर्षायाममा देखिने पानी निकासको समस्यालाई न्यूनीकरण गर्न यी संरचनाहरूले महत्वपूर्ण भूमिका खेलेका छन् ।

त्यस्तै, १५ किलोमिटर सडक ढलान तथा ३.५ किलोमिटर सडकमा ब्लक छाप्ने कार्य सम्पन्न भएको छ ।स्थानीय स्तरमा यातायातलाई थप सहज र सुरक्षित बनाउने दिशामा यसलाई महत्वपूर्ण उपलब्धि मानिएको छ ।

यी पूर्वाधारहरूले दैनिक आवागमन मात्र होइन, आर्थिक गतिविधिलाई समेत गति दिएको अनुभूति स्थानीयले गर्न थालेका छन् । यी सबै कार्यहरू संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा योजनाबद्ध रूपमा कार्यान्वयन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र भौतिक पूर्वाधार विकासका विभिन्न योजनाले पनि तीब्रता पाएका छन् । जस्तो, वडा नम्बर २ को हनुमन्ते खोलामा काठमाडौँ जोड्ने ट्रस ब्रिज, वडा नम्बर ७ को ढुङ्ग्रे खोलामा भक्तपुर जोड्ने पक्की पुल तथा वडा नम्बर १० मा स्थानीय खोलामा कल्भर्ट निर्माण गरिएको छ ।

वडा नम्बर ८ र १० का वडा कार्यालय भवन निर्माणका लागि देखिएको जग्गा सम्बन्धी समस्या समाधान गरी निर्माण कार्यलाई द्रूत गतिमा अघि बढाइएको छ । वडा नम्बर ३, ५ र ९ का वडा कार्यालय भवन निर्माण कार्य ठेकेदारको कारण केही ढिलाइ भए पनि अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

खानेपानी तथा सिँचाइतर्फ बोजेपोखरी, सिद्धिपुर, चाङ्गाथली, लामाटार, घिमिरेथोक, धाराचौर, चापाखर्क लगायतका क्षेत्रमा खानेपानी योजनासहित सिद्धिपुरमा इनार योजना कार्यान्वयन गरिएको छ । करिब ३ हजार ७०० मिटर पाइपलाइन, इन्टेक, रिजर्भवायर निर्माण, बिस्तार तथा मर्मत कार्य सम्पन्न भएको छ ।

शैक्षिक पूर्वाधार विकास अन्तर्गत महेन्द्र आदर्श मावि, सिद्धिमंगल मावि, सिंगेरी, विश्वामित्र, महालक्ष्मी, लुभु, बासुकी, कालीदेवी मावि तथा महालक्ष्मी क्याम्पसमा भवन स्तरोन्नती, कोठा थप, मर्मत सुधार तथा खेलमैदान निर्माण कार्य सम्पन्न गरिएको छ ।
धार्मिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनका क्रममा महालक्ष्मी मन्दिर, कृष्ण मन्दिर, शिव मन्दिर, देवीस्थान, भीमसेन, सिद्धिविनायक गणेश, राधाकृष्ण मन्दिर, ओमकारेश्वर, पञ्चायन, कालीदेवी, राममन्दिर, ठकुरी टोल देवल, बस्नेत टोल देवाली, मण्डप देवल महादेव, घिमिरेथोक मन्दिर, विष्णुडोल गणेश, कृष्ण प्रणामी, डोलेश्वरलगायत करिब २१ वटा धार्मिक स्थलमा नयाँ निर्माण, जिर्णोद्धार, स्तरोन्नती तथा मर्मत सुधारका कार्य सम्पन्न भएका छन् ।

त्यस्तै, सामुदायिक पूर्वाधार अन्तर्गत गुठी भवन, सामुदायिक भवन, किरियापुत्री भवन तथा तामाङ संग्रहालयसहित करिब १७ वटा संरचनामा निर्माण तथा मर्मत कार्य सम्पन्न गरिएको छ । साथै एक दर्जन भन्दा बढी पाटी, सतल र फल्चाहरूको निर्माण तथा स्तरोन्नति गरिएको छ ।

खेलकुद पूर्वाधारतर्फ चाङ्गाथली क्लब, खेलमैदान, उटाफल, सिस्नेरी माध्यमिक विद्यालय, गैरीगाउँ तथा टिकेश्वर–टिकाथली क्षेत्रका ब्याडमिन्टन कोर्ट लगायत संरचनाको निर्माण, व्यवस्थापन र स्तरोन्नती गरिएको नगरपालिकाले जनाएको छ ।

सडक पूर्वाधारमा नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा ग्वार्को चोकदेखि ढुङ्गीनासम्मको मूल सडकमा सडक बत्ती जडान कार्य करिब ७५ प्रतिशत सम्पन्न भएको छ । वडा नम्बर २ र ९ मा आंशिक रूपमा सडक बत्ती तथा सीसी क्यामेरा जडान सम्पन्न भइसकेको छ ।

नगरपालिकाका अनुसार चालु आर्थिक वर्षका लागि स्वीकृत २५४ योजनामध्ये २०६ योजनाको निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी योजनाहरू कार्यान्वयनको चरणमा रहेका छन् । ठेक्का व्यवस्थापनतर्फ विगतका सम्झौतामा रहेका ३६ योजनामध्ये १७ योजनाको निर्माण सम्पन्न भएको, २ ठेक्का तोडिएको र केही योजनाहरूको काम सञ्चालन तथा कारबाही प्रक्रिया अघि बढाइएको छ । चालु वर्षका १८ योजनामध्ये २ सम्पन्न भएका छन् भने केही आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने अनुमान गरिएको छ ।

नगर प्रमुख हरिगोविन्द श्रेष्ठका अनुसार बिगतको तुलनामा पूर्वाधार निर्माण कार्य उल्लेख्य रूपमा बढेको छ । पुराना बस्तीहरूमा एकरूपता कायम गर्न भवन निर्माणमा प्रोत्साहन तथा नक्सा प्रक्रियामा आवश्यक सहयोग पनि प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

पारदर्शी काम, गुणस्तरीय नतिजा
महालक्ष्मी नगरपालिका विकासको गतिसँगै त्यसको गुणस्तर र पारदर्शितामा पनि सजग देखिन्छ । केही वर्षयता विभिन्न कारणले रोकिएका ४१ वटा ठेक्का सम्झौता अन्तर्गतका निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएका छन् । लामो समयदेखि अधुरै रहेका योजना पूरा हुँदा नगरवासीमा नयाँ भरोसा र उत्साह थपिएको छ ।

नगरपालिकाले १० लाखभन्दा माथिका योजना पूर्णरूपमा ई-बिडिङ प्रणालीमार्फत सञ्चालन गर्दै आएको छ । यसले ठेक्का प्रक्रियालाई पारदर्शी र प्रतिस्र्धी बनाएको छ । योजना कसरी छनोट हुन्छन् र कसरी कार्यान्वयनमा जान्छन् भन्नेबारे यसले स्पष्ट पारेको छ जसले नागरिकको विश्वास पनि क्रमश: बलियो बनाउँदै छ ।

उपभोक्ता समितिबाट सञ्चालन-कार्यान्वयन हुने योजनामा व्यवस्थापनको नयाँ अभ्यास देखिएको छ । लागत अनुमान समयमै तयार पार्ने, मूल्यांकन प्रक्रिया व्यवस्थित रूपमा अघि बढाउने तथा प्राविधिक कार्यहरू निर्धारित समयभित्रै सम्पन्न गर्ने प्रणालीलाई कडाइका साथ लागू गरिएको छ । यसले कामको गति मात्र होइन, नतिजामा पनि सुधार ल्याएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, ठेक्का अभिलेखलाई क्रमबद्ध र व्यवस्थित रूपमा राख्ने कार्यलाई पनि प्राथमिकता दिइएको छ । यसले भविष्यमा योजना अनुगमन र मूल्यांकनलाई सहज बनाउने अपेक्षा छ ।

नगरपालिकाको सुरक्षा र व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्ने प्रयास पनि सँगसँगै अघि बढेको छ । स्मार्ट सडक बत्ती जडान, ट्राफिक लाइटहरुको जडान, सीसीटीभी क्यामरा बिस्तार जस्ता कार्यहरू निरन्तर रूपमा अघि बढिरहेका छन् । नगर प्रमुख हरिगोविन्द श्रेष्ठका अनुसार यी प्रविधिमैत्री पहलले नगरपालिकालाई अझ सुरक्षित, व्यवस्थित र उत्तरदायी बनाउँदै लगेका छन् ।

निर्माण कार्यको गुणस्तर सुनिश्चित गर्न नगरपालिकाले कडा मापदण्ड लागू गरेको छ । ५ लाखभन्दा माथिका योजनाहरूमा गुणस्तर परीक्षण पश्चात् मात्र भुक्तानी दिने व्यवस्था गरिएको छ, जसले काममा जिम्मेवारी र जबाफदेहितालाई थप मजबुत बनाएको छ । साथै, उपप्रमुखको नेतृत्वमा हुने नियमित अनुगमनले निर्माण कार्यलाई अझ प्रभावकारी बनाएको छ ।

अबका योजना र लक्ष्य: दिगो विकास र हरित भविष्य
महालक्ष्मी नगरपालिकाले सम्पन्न भएका योजनामा सीमित नरही भविष्यका लक्ष्यहरूलाई स्पष्ट दृष्टि र योजनासहित अघि सार्ने तत्परता पनि देखाएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि नगर सभाले स्वीकृत गरेका योजना समयमै सम्पन्न गर्ने उद्देश्यसहित बिस्तृत कार्ययोजना तयार पारिएको छ, जसले विकासका कार्यलाई थप व्यवस्थित र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ ।

यसपटक नगरपालिकाले सेवाग्राहीमैत्री प्रणालीलाई विशेष प्राथमिकता दिएको छ । उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाहरूको सम्झौता प्रक्रिया अब प्रत्येक वडाबाटै सम्पन्न गर्ने तयारी छ । यसले नागरिकलाई सानो कामका लागि समेत नगरपालिकासम्म धाउनुपर्ने झन्झट घटाउनेछ र सेवा पहुँचलाई स्थानीय स्तरमै सहज बनाउने छ ।

योजना दर्ता प्रक्रियामा पनि सुधारको पहल गरिएको छ । परम्परागत रूपमा फाइल बोकेर धाउनुपर्ने झन्झट हटाउँदै प्रक्रियालाई सरल र छरितो बनाइँदै छ । योजना दर्ता भएको मितिले तीन दिनभित्रै सम्झौता गरी कार्यादेश दिने स्पष्ट कार्यविधि लागू गर्ने लक्ष्य राखिएको छ, जसले कार्यान्वयनको गति उल्लेख्य रूपमा बढाउने विश्वास गरिएको छ ।

नगरपालिकाले डिजिटल रूपान्तरणतर्फ चालेको कदम पनि उत्तिकै महत्त्वपूर्ण छ । योजना अभिलेख प्रणालीलाई पूर्णरूपमा डिजिटाइज गर्ने लक्ष्यले अभिलेख व्यवस्थापनलाई छिटो, सुरक्षित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ । यसले भविष्यमा अनुगमन, मूल्यांकन र योजना व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनेछ ।

त्यस्तै, संघ, प्रदेश तथा अन्य निकायबाट विनियोजित योजनाहरूलाई बजेट फिर्ता नजाने गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने रणनीति पनि अघि सारिएको छ । यसले स्रोतको अधिकतम उपयोग सुनिश्चित गर्दै विकासको निरन्तरतालाई मजबुत बनाउने छ ।

अहिलेको अवस्था हेर्दा विकास निर्माणले गति लिइसकेको प्रष्ट देख्न सकिन्छ । चालु आर्थिक वर्षमा विनियोजित योजनामध्ये १५ वटा योजना ठेक्का प्रक्रियामा रहेका छन् भने २५ भन्दा बढी योजना उपभोक्ता समितिसँग सम्झौता भइसकेका छन् । यी तथ्यांकहरूले नगरपालिकाको सक्रियता र कार्यान्वयन क्षमताको संकेत गर्छन् ।

महालक्ष्मी नगरपालिकाले अर्को नारा पनि अघि सारेको छ- ‘हरित, स्वच्छ र दिगो शहरी विकास ।’ यही नाराअनुसार नगरपालिका अहिले वातावरणमैत्री पूर्वाधार, प्राकृतिक स्रोत संरक्षण र प्रभावकारी विपद् व्यवस्थापनमार्फत आशलाग्दो भविष्यतर्फ दृढतापूर्वक अघि बढिरहेको छ । नगरपालिकाको समग्र विकासलाई दीर्घकालीन रूपमा सन्तुलित बनाउने लक्ष्यसहित विभिन्न रणनीतिक कार्यक्रमहरू कार्यान्वयनमा ल्याइएका छन् ।

नगरपालिकाले हरियाली प्रवद्र्धनलाई प्राथमिकतामा राखेर ग्वार्को–ढुङ्गेनी मूल सडक खण्डको दायाँ–बायाँ करिब ६ किलोमिटर क्षेत्रमा वृक्षारोपण अभियान सञ्चालन गरेको छ । यससँगै सहायक सडकहरू, खुला तथा सार्वजनिक जग्गाहरूमा समेत हरियाली बिस्तार गर्ने कार्य निरन्तर जारी छ । यसले वातावरणीय सन्तुलन कायम गर्न सहयोग मात्र पुर्याएको छैन, शहरी सौन्दर्यमा पनि उल्लेख्य सुधार ल्याएको छ ।

स्थानीय स्तरमा हरित चेतना अभिवृद्धि गर्न ‘सेभ द प्लानेट मिसन २०२० नेपाल’सँगको सहकार्यमा सामुदायिक विद्यालयहरूमा वृक्षारोपण, बिरुवा संरक्षण तथा हरित क्षेत्र विस्तारका कार्यक्रमहरू सञ्चालन गरिएका छन् । सरकारी निकाय, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यले वृक्षारोपण अभियानलाई अभियानमै सीमित नराखी दैनन्दिन अभ्यासका रूपमा विकास गरिरहेको नगरपालिकाले जनाएको छ ।

पलिकाका अनुसार, फोहोरमैला व्यवस्थापनतर्फ पनि नगरपालिकाले सुदृढ कदम चालेको छ । मानव मलमूत्रीय फोहोरको सुरक्षित ढुवानी, भण्डारण तथा व्यवस्थापनसम्बन्धी विनियम २०७६ लागू गर्दै व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाइएको छ । साथै, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ कार्यान्वयनमा ल्याएर दीर्घकालीन संरक्षणका आधारहरू तयार गरिएको छ ।

सरसफाइलाई प्रभावकारी बनाउन नगरस्तरीय फोहोरमैला व्यवस्थापन अनुगमन समिति गठन गरिएको छ भने निजी क्षेत्रसँगको सहकार्यमा फोहोर संकलन तथा ढुवानीलाई थप व्यवस्थित बनाइएको छ । नगरप्रमुख श्रेष्ठका अनुसार नियमित सरसफाइ अभियानहरूले नगरलाई सफा र स्वस्थ बनाउने प्रयासलाई निरन्तरता दिएका छन् ।

विपद् व्यवस्थापनतर्फ पनि नगरपालिका सजग देखिन्छ । सामुदायिक वन उपभोक्ता समिति र स्थानीय समुदायलाई लक्षित गरेर आगलागी नियन्त्रणसम्बन्धी तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । नगर, वडा र अन्य सम्बन्धित तहमा विपद् व्यवस्थापन संरचना निर्माण गरी समन्वयलाई मजबुत बनाइएको छ । विपद् व्यवस्थापन कोष स्थापना गरी आवश्यक पर्दा तत्काल परिचालन हुने व्यवस्था समेत गरिएको छ ।

सुरक्षा निकायहरूसँगको सहकार्यमा उद्धार तथा राहत कार्यका लागि आवश्यक उपकरण खरिद, जनशक्ति तालिम र क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

कति दिगो पूर्वाधार विकास ?
महालक्ष्मी नगरपालिकाले एउटा महत्वपूर्ण विषय समातेको छ- दिगो विकासलाई मूल आधार मानेर अगाडि बढ्ने । त्यसकै निम्ति नगरपालिका अहिले हरित पूर्वाधार निर्माणमा केन्द्रित छ । जसअन्तगृत् सडक किनारमा वृक्षारोपण, खुला क्षेत्रहरूको संरक्षण, जलस्रोतको दिगो उपयोग तथा वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगमार्फत नगरपालिकाले विकास र वातावरणबीच सन्तुलन कायम गर्ने प्रयास गरिरहेको छ ।

ऊर्जा बचत, जलवायु परिवर्तन अनुकूलन र वातावरण संरक्षणसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै नगरपालिकाले दीर्घकालीन रूपमा सुरक्षित, स्वच्छ र सन्तुलित शहरी वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ । यी पहलहरूले विकासलाई केवल भौतिक संरचनामा सीमित नराखी वातावरणीय उत्तरदायित्वसँग जोड्ने काम गरेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगानाका अनुसार यहाँ पूर्वाधार विकासलाई दिगोपन, पारदर्शिता र प्रभावकारितासँग जोडेर अघि बढाउने अभ्यास संस्थागत गरिएको छ । बस्ती स्तरबाट उठेका विकासका मागहरूलाई व्यवस्थित रूपमा संकलन गरी तिनको आवश्यकता, औचित्य र दीर्घकालीन प्रभावको सूक्ष्म अध्ययन गरिन्छ । त्यसपछि मात्र प्राथमिकताका आधारमा योजनाहरू छनोट गरिने प्रक्रिया अपनाइएको छ ।

छनोट भएका योजनाहरू नगर सभाबाट बजेट विनियोजनपछि कार्यान्वयनमा प्रवेश गर्छन्। उपभोक्ता समिति, दरभाउ पत्र तथा ठेक्का प्रक्रियामार्फत आवश्यक सम्झौताहरू सम्पन्न गरी योजनाहरूलाई चरणबद्ध रूपमा अघि बढाइन्छ । यस क्रममा प्रत्येक परियोजनाले कानुनी, प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ, जसले कार्यान्वयनलाई व्यवस्थित र उत्तरदायी बनाएको छ ।

कार्य सम्पन्न भएपछि पनि प्रक्रिया यत्तिकै रोकिँदैन । नियमित अनुगमन, प्राविधिक परीक्षण र मूल्यांकनमार्फत योजनाहरूको गुणस्तर सुनिश्चित गरिन्छ। आवश्यक मापदण्ड पूरा भएपछि मात्र भुक्तानी प्रक्रिया अघि बढाइन्छ । उपभोक्ता समितिबाट सञ्चालित योजनाहरूको अनुगमन उप–प्रमुखको संयोजकत्वमा रहेको अनुगमन समितिले स्थलगत निरीक्षणमार्फत गर्दै आएको छ, जसले कामको गुणस्तर, समयसीमा र प्राविधिक पक्षलाई नजिकबाट मूल्यांकन गर्ने काम गर्छ ।

विशेषगरी ठूला र जटिल प्रकृतिका योजनाहरूमा पारदर्शिता र प्रतिस्पर्धा सुनिश्चित गर्न विद्युतीय खरिद प्रणाली अनिवार्य गरिएको छ । यसले ठेक्का प्रक्रियालाई अझ खुला, व्यवस्थित र जवाफदेही बनाउँदै सम्भावित अनियमितता न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले बताए ।

दिगोपन, पारदर्शिता र प्रभावकारितालाई केन्द्रमा राखेर अघि बढाइएको पूर्वाधार विकासको यो अभ्यासले नगरपालिकालाई केवल विकसित मात्र होइन, जिम्मेवार र भविष्यप्रति सजग शहरका रूपमा स्थापित गर्ने दिशामा अघि बढाइरहेको ढुंगानाको भनाइ छ ।

फोहोर व्यवस्थापन र वातावरण जोगाउन व्यवस्थित पहल
अहिले शहरी व्यवस्थापनको महत्त्वपूर्ण आधार बनेको छ फोहोरमैला व्यवस्थापन । महालक्ष्मी नगरपालिकाले दिगो र वातावरणमैत्री नगर बनाउने दिशामा उल्लेख्य पहल अघि बढाएको छ । स्रोतमै फोहोर वर्गीकरणको अवधारणालाई व्यवहारमा उतार्दै नगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याउने अभ्यासलाई लगभग अनिवार्य जस्तै बनाएको छ ।

घर-घरमा फोहोर छुट्याउने संस्कार विकास गर्न नगरपालिकाले व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । घरदैलो अभियान, सूचना प्रवाह र सार्वजनिक सचेतनामार्फत् नागरिकलाई जिम्मेवार सहभागिताका लागि प्रोत्साहन र प्रेरित पनि गरिरहेको छ । यसले फोहोर व्यवस्थापनलाई केवल सरसफाइको विषय नभई सामूहिक जिम्मेवारीको अभ्यासमा रूपान्तरण गर्ने प्रयास गरेको देखिन्छ ।

फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनलाई प्रभावकारी बनाउन निजी क्षेत्र, सामुदायिक संस्था तथा स्थानीय समुदाय–समूहहरूसँगको सहकार्यलाई बिस्तार गरिएको छ । यस साझेदारीले सेवा प्रवाहलाई व्यवस्थित मात्र होइन, दिगो र परिणाममुखी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगानाका अनुसार सहकार्यमा आधारित यो मोडलले व्यवस्थापन प्रक्रियालाई थप सुदृढ बनाएको छ ।

त्यस्तै, निर्माण तथा औद्योगिक गतिविधिबाट वातावरणमा पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न कडाइका साथ मापदण्ड लागू गरिएको उनले बताए । निर्माण कार्य वा उद्योग सञ्चालनका क्रममा वातावरणीय सर्तहरू अनिवार्य रूपमा पालना गराउन नियमित अनुगमन गरिँदै आएको छ, जसले दीर्घकालीन रूपमा वातावरण संरक्षणमा सहयोग पुर्‍याइरहेको छ ।

नगरपालिकाले भवन निर्माण स्वीकृति प्रक्रियासँगै वातावरणीय जिम्मेवारीलाई समेत जोडेको छ । घर निर्माण गर्दा सेप्टिक ट्यांक र सोक–पिट अनिवार्य गर्ने व्यवस्थाले ढल व्यवस्थापनमा सुधार गर्नुका साथै भूमिगत पानी प्रदूषण न्यूनीकरणमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

अन्त्यमा,
योजनाबद्ध विकास, हरित शहरीकरण र संस्थागत सुशासनको बलियो अभ्यास गरिरहेको महालक्ष्मी नगरपालिका त्यसमार्फत् नागरिकले महसुस गर्न सक्ने परिवर्तनको बाटोमा अघि बढिरहेको छ । भौतिक पूर्वाधार विस्तारदेखि खानेपानी, शिक्षा, स्वास्थ्य, संस्कृति संरक्षण तथा सामाजिक पूर्वाधारसम्मका क्षेत्रमा भएका उल्लेख्य उपलब्धिहरूले नगरपालिकाको समग्र स्वरूपलाई क्रमश: आधुनिक, व्यवस्थित र नागरिकमैत्री बनाउँदै लगेको देखिन्छ ।

पूर्वाधार विकासमा देखिएको तीब्रता मात्र होइन, त्यससँगै अपनाइएको दिगोपन, पारदर्शिता र गुणस्तर सुनिश्चितताले नगरपालिकाको विकास मोडेललाई अझ विश्वसनीय बनाएको छ । ई-बिडिङ प्रणाली, नियमित अनुगमन, प्राविधिक परीक्षण तथा बहु-तह समन्वयले योजनाहरूको कार्यान्वयन प्रक्रियालाई उत्तरदायी र परिणाममुखी बनाएको छ ।

त्यस्तै, वातावरण संरक्षण, फोहोर व्यवस्थापन र हरित विकासका क्षेत्रमा अपनाइएका नीतिगत तथा व्यावहारिक पहलहरूले नगरलाई केवल भौतिक रूपमा मात्र होइन, वातावरणीय रूपमा पनि सन्तुलित बनाउने दिशामा योगदान पुर्‍याएका छन् । स्रोतमै वर्गीकरण, जनसहभागिता, निजी क्षेत्रसँगको साझेदारी र वातावरणीय मापदण्डको कडाइका साथ कार्यान्वयनले स्वच्छ र दिगो नगर निर्माणको आधार मजबुत बनाएको छ ।

समग्रमा, महालक्ष्मी नगरपालिका अहिले ‘विकास र वातावरणबीचको सन्तुलन’ कायम गर्ने प्रयाससहित अघि बढिरहेको छ । लाग्छ-पारदर्शिता, उत्तरदायित्व र दीर्घकालीन दृष्टिकोणलाई केन्द्रमा राख्दै अघि बढाइएको यो यात्रा केवल पूर्वाधार निर्माणको कथा मात्र होइन, सुशासनयुक्त, हरित र दिगो भविष्यतर्फको स्पष्ट प्रतिबद्धता पनि हो ।

0 Comments