काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता माधव सापकोटाले स्थानीय तहहरू केवल उपभोगमुखी वा अनुत्पादक क्षेत्रमा सीमित नरही उत्पादनमूलक क्षेत्रतर्फ पनि लगानी गर्न थालेको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जुगल गाउँपालिकाले पर्यटन सम्भावना पहिचान गरी ‘जुगल माउन्ट एभरेस्ट भ्यू प्वाइन्ट’ लाई नयाँ गन्तव्यका रूपमा विकासको पहल गरेको उल्लेख गरे। यसले स्थानीय तहको लगानी प्राथमिकतामा सकारात्मक परिवर्तन देखाएको उनको भनाइ थियो।
स्थानीय सरकारका बजेटहरू प्राय: दीर्घकालीन प्रतिफल नदिने क्षेत्रमा खर्च भइरहेको आलोचना भइरहेका बेला जुगल गाउँपालिकाले पर्यटन पूर्वाधार निर्माणमा ध्यान दिएको सन्देशदायी कदम भएको सापकोटाले बताए।
उनले पर्यटन क्षेत्रको पहिचानसँगै त्यहाँ पुग्ने पहुँच मार्ग, सेवा सुविधा र अन्य आधारभूत संरचना निर्माणमा समानान्तर रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए। विशेष गरी बलेफीदेखि ढाँडे, कात्तिके हुँदै तेम्बाथानसम्म जोडिने सडकको स्तरोन्नति अपेक्षाअनुसार अघि नबढेको भन्दै असन्तुष्टि व्यक्त गरे।
जुगल हिमाल क्षेत्रसम्म सहज पहुँच सुनिश्चित गर्न सके पर्यटन उद्योग विस्तारमा थप सहयोग पुग्ने उनको धारणा थियो। जुगल ट्रेक क्षेत्रका लागि करिब ३६ करोड रुपैयाँ बराबरको पूर्वाधार निर्माण भइसकेको जानकारी पनि उनले दिए।
सापकोटाले मानव बस्तीभन्दा माथिल्लो क्षेत्रमा प्राकृतिक स्रोत उपयोगका नाममा हुने अव्यवस्थित गतिविधिप्रति पनि चासो व्यक्त गरे। विशेष गरी बस्तीमाथिका क्षेत्रमा जलविद्युत् आयोजना सञ्चालन, विस्फोटन तथा वन विनाशजस्ता गतिविधिबाट वातावरणीय र सामाजिक विवाद बढ्न सक्ने भएकाले संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव थियो।
उनले बस्ती क्षेत्रसम्म सडक सञ्जाल विस्तार गरी त्यसपछिका क्षेत्रमा पदमार्ग विकास गर्ने मोडेल अवलम्बन गर्न सके पर्यटन प्रवर्द्धन र प्राकृतिक सम्पदाको संरक्षणबीच सन्तुलन कायम गर्न सकिने बताए।







