काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पतालमा आन्दोलनमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पुनः नियमित सेवामा फर्किएका छन्।
चिकित्सकमाथि दुर्व्यवहार र ज्यान मार्ने धम्की दिएको आरोपमा कुशल दर्लामी पक्राउ परेपछि उनीहरू काममा फर्किएको जनाइएको छ।
अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीहरू सेवा प्रवाहमा पुनः सक्रिय भएको जानकारी दिएको हो। यद्यपि आन्दोलनरत पक्षले केही मागहरू भने यथावत् राखेका छन्।
स्वास्थ्यकर्मीहरूले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन २०७९) अनुसार दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग अघि सारेका छन्। साथै घटनामा संलग्न अन्य व्यक्तिहरूलाई २४ घण्टाभित्र नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउनुपर्ने र सामाजिक सञ्जालमा प्रसारित आपत्तिजनक सामग्री हटाइनुपर्ने उनीहरूको माग छ।
माग सम्बोधन नभए पुनः आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले दिएका छन्।
यसअघि आन्दोलनका कारण ओपिडीसहितका सेवा अवरुद्ध हुँदा पश्चिम नेपालकै प्रमुख स्वास्थ्य केन्द्र भेरी अस्पतालमा उपचारका लागि पुगेका बिरामीहरू प्रभावित भएका थिए।








