काठमाडौँ । सरकारी ठेक्का प्रक्रियासँग सम्बन्धित इ-बिडिङ ह्याक प्रकरणमा संलग्नताको आरोपमा थप एक ठेकेदार पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आशिष निर्माण सेवाका अध्यक्ष ऋषिकेश गौलीलाई नियन्त्रणमा लिएको हो।
सिआइबीका अनुसार गौलीलाई काठमाडौँको पुरानो बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो। अनुसन्धानबाट बच्न केही दिनयता उनी अस्पतालमा भर्ना भएको खुलेको जनाइएको छ।
प्रहरीका अनुसार सरकारी बोलपत्र प्रणालीमा अनधिकृत पहुँच स्थापना गरी ठेक्का प्रक्रियामा प्रभाव पार्ने गतिविधिमा उक्त निर्माण कम्पनीको समेत संलग्नता देखिएपछि पक्राउ गरिएको हो।
सिआइबीका एसएसपी शिव श्रेष्ठले प्रारम्भिक अनुसन्धानका क्रममा सो कम्पनी र ह्याकिङमार्फत सरकारी ठेक्का प्रक्रियामा हस्तक्षेप गर्ने समूहबीच मिलेमतोको संकेत भेटिएको बताएका छन्।
प्रकरणसँग सम्बन्धित अन्य व्यक्ति र संस्थामाथि पनि अनुसन्धान जारी रहेको जनाइएको छ।




