काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी तथा व्यवसायीलाई अनावश्यक आशंका नराख्न आग्रह गर्दै सरकारको उद्देश्य निजी क्षेत्रलाई धराशायी बनाउने नभई नीतिगत सुधारमार्फत अर्थतन्त्र सुदृढ बनाउने रहेको बताएका छन्।
आइतबार निजी क्षेत्रका प्रतिनिधिसँग भएको भेटवार्तामा उनले सुशासन, आर्थिक अनुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको उल्लेख गरे। यस अभियानमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
लामिछानेका अनुसार सरकार उद्योगी व्यवसायीसँग सहकार्यकै आधारमा अघि बढ्न चाहन्छ। तर आर्थिक प्रणालीलाई कमजोर बनाउने, अपारदर्शी वा अवैध प्रकृतिका गतिविधिमा राज्यले प्रभावकारी निगरानी र आवश्यक कारबाही गर्ने नीति अपनाउने बताए।
उनले विगतमा राजनीतिक अस्थिरता तथा विभिन्न शक्ति केन्द्रको दबाबका कारण व्यावसायिक वातावरण प्रभावित भएको अवस्थाबारे सरकार जानकार रहेको बताए। अब त्यस्तो अवस्था दोहोरिन नदिने र नीतिगत संरचनामार्फत व्यवसाय क्षेत्रलाई सुरक्षा प्रदान गरिने उनको भनाइ थियो।
सभापति लामिछानेले वर्तमान सरकार निर्वाचनताका सार्वजनिक गरिएको वाचा पत्रअनुसार सञ्चालन भइरहेको दाबी गरे। जनताले सोही प्रतिबद्धताको आधारमा मत दिएको उल्लेख गर्दै उनले घोषित नीतिभन्दा बाहिर नजाने बताए।
उनले उद्योगी व्यवसायीलाई आफ्नै संस्थागत कमजोरीको समीक्षा गर्न, आन्तरिक लेखापरीक्षण प्रणाली सुदृढ बनाउन तथा विगतका त्रुटि सच्याउने प्रक्रियामा राज्यसँग सहकार्य गर्न सुझाव दिए।
उनका अनुसार नीतिगत सुधार, सुशासन प्रवर्द्धन र आर्थिक पुनर्संरचना वर्तमान सरकारका प्रमुख कार्यसूची हुन्। आर्थिक सुधारसम्बन्धी कानुन कार्यान्वयनमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको उनले जोड दिए।
लामिछानेले विगतमा जस्तो समस्या समाधानका लागि राजनीतिक नेताको व्यक्तिगत पहुँच खोज्नुपर्ने अवस्था अन्त्य हुने दाबी पनि गरे।







