काठमाडौँ । सरकारले सार्वजनिक पदाधिकारी, नेता तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति जाँचबुझ गर्न गठन गरिएको सम्पत्ति छानबिन आयोगका पदाधिकारी तथा कर्मचारीहरूको पारिश्रमिक र सेवा-सुविधा निर्धारण गरेको छ ।
निर्धारित व्यवस्थाअनुसार आयोगका अध्यक्षले नेपाल सरकारको राज्यमन्त्री सरह सुविधा पाउने छन् भने सदस्यहरूले सहायक मन्त्री सरहको सेवा-सुविधा प्राप्त गर्ने छन् ।
अध्यक्षले राज्यमन्त्री सरहको पारिश्रमिकका साथै सवारी साधन, इन्धन, सवारी चालक र सञ्चार सुविधा बापत मासिक ६० हजार रुपैयाँ पाउने व्यवस्था गरिएको छ । त्यस्तै, सदस्यहरूले सहायक मन्त्री सरहको पारिश्रमिकसहित सवारी साधन, इन्धन, सवारी चालक तथा सञ्चार सुविधा बापत मासिक ६० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
यसैगरी आयोगको सचिवालयमा कार्यरत कर्मचारीलाई हाल बहाल रहेको पदको प्रारम्भिक तलबमानको २५ प्रतिशत अतिरिक्त भत्ता उपलब्ध गराइने व्यवस्था गरिएको छ ।







