काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप अनुसन्धानका लागि १२ दिनसम्म हिरासतमा राख्ने अनुमति विशेष अदालतले दिएको छ।
बुधबार बसेको विशेष अदालतको इजलासले उनीहरूलाई थप समय हिरासतमा राखी अनुसन्धान अघि बढाउन स्वीकृति प्रदान गरेको हो। इजलासमा न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको सहभागिता रहेको थियो।
उनीहरूमाथि मनि लाउण्डरिङको आशंकामा अनुसन्धान भइरहेको छ। यसअघि पनि दुवैलाई पटक–पटक म्याद थप गर्दै हिरासतमा राखिएकोमा हाल अग्रवालको हकमा छैटौँ र भट्टको हकमा पाँचौँ पटक म्याद थप भएको हो।
अनुसन्धान निकायका अनुसार सुलभ अग्रवाल शंकर ग्रुपसँग आबद्ध सञ्चालक हुन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समन्वयमा भट्टलाई चैत १९ गते काठमाडौँबाट नियन्त्रणमा लिएको थियो। त्यसको तीन दिनपछि, चैत २२ गते अग्रवाललाई पनि पक्राउ गरिएको थियो।
प्रकरणसँग सम्बन्धित विस्तृत आर्थिक कारोबार तथा सम्पत्ति स्रोतबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।








