काठमाडौँ । लुटपाटको प्रयास भएको घटनामा साहसिक रूपमा प्रतिकार गर्दै प्रहरीलाई सहयोग पुर्याएकी एक महिलालाई नेपाल प्रहरीले सम्मान गरेको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ महानगरपालिका-२२, वटु निवासी सञ्जिता शाक्यलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । शाक्य काठमाडौँ महानगरपालिका-२४, तुछेनानी गल्लीस्थित नैना एन्ड ईशान ज्वेलर्समा कार्यरत रहेको जनाइएको छ ।
गत वैशाख १७ गते दिउँसो ज्वेलर्समा दुई जना व्यक्तिले पेस्तोल देखाएर लुटपाट गर्ने प्रयास गर्दा उनले जोखिमपूर्ण परिस्थितिमा पनि साहसिक प्रतिकार गर्दै घटना नियन्त्रणमा सहयोग पुर्याएको प्रहरीको भनाइ छ । सो घटनामा संलग्न तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा महानिरीक्षक कार्कीले शाक्यको साहस, जिम्मेवारीबोध र नागरिक कर्तव्यप्रतिको सक्रियताको प्रशंसा गरे । उनले यस्तो अवस्थामा नागरिक र प्रहरीबीचको सहकार्यले अपराध नियन्त्रण र अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा केन्द्रीय प्रहरी प्रवक्ता लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
सम्मानित शाक्यले घटनाको क्रममा देखिएको आफ्नो अनुभव पनि कार्यक्रममा साझा गरेकी थिइन् । प्रहरीका अनुसार उनले समयमै हुलिया विवरण र सिसिटिभी फुटेज उपलब्ध गराउन देखाएको सक्रियताले अनुसन्धान प्रक्रियालाई सहज बनाएको थियो ।
नेपाल प्रहरीले उनको साहसले सम्भावित ठूलो आपराधिक घटना रोक्न सहयोग पुगेको र समाजमा अपराधविरुद्ध सचेतना तथा प्रतिरोधको सकारात्मक सन्देश प्रवाह भएको जनाएको छ ।







