काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुर हेटौँडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित सडकमा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।
नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा प्र ०३-००५ प १४१५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको ना ५ ख ५२५२ नम्बरको फलाम बोकेको ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक नुवाकोटको ताँदी गाउँपालिका-६ घर भई नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुर दरबन्दीमा कार्यरत ३६ वर्षीय प्रहरी सहायक हवल्दार किरण श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि हेटौँडा अस्पताल पठाएकामा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ बोगटीले बताए । ठक्कर दिने ट्रक र ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ निवासी २४ वर्षीय रञ्जित कार्कीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







