काठमाडौँ । सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यसहित राष्ट्रिय सतर्कता केन्द्रले देशभर अण्डरकभर टोली परिचालन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा परिचालित टोली विशेष गरी सेवाग्राहीको प्रत्यक्ष भिड हुने सरकारी कार्यालयमा केन्द्रित गरिएको प्रशासन सिंहदरवार उच्च स्रोतले जनाएको छ ।
ती स्रोतका अनुसार टोली नापी, मालपोत, यातायात व्यवस्था कार्यालयलगायत सेवाग्राहीको चाप बढी रहने कार्यालयमा सेवाग्राहीकै रूपमा पुगेर अनुगमन गर्ने छ भने अनियमितता फेला परे अन दि स्पट नै कारवाही गर्न सक्ने अधिकारसहित पठाइएको छ । सेवा लिन आउने सर्वसाधारणले भोग्ने समस्या, कर्मचारीको व्यवहार, अनावश्यक ढिलासुस्ती, बिचौलियाको प्रभाव तथा सेवा प्रवाहको वास्तविक अवस्थाबारे प्रत्यक्ष जानकारी संकलन गर्ने उद्देश्यले छद्मभेसी टोली परिचालन गरिएको बताइएको छ ।
स्रोतका अनुसार टोलीले आफ्नो परिचय नखुलाई सेवाग्राहीकै रूपमा सेवा लिने, लाइन बस्ने, कागजात बुझाउने तथा प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ । यसक्रममा सेवा प्रवाहमा हुने ढिलाइ, अनियमितता तथा सेवाग्राहीमाथि हुने व्यवहारको सूक्ष्म निगरानी भइरहेको जनाइएको छ ।
सतर्कताबाट गएको टोलीलाई नै निगरानी गर्न अर्को थप टोली पनि परिचालन भएको ती विशेष स्रोतले जनाएको छ ।
अनुगमनबाट प्राप्त विवरण सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रिपोर्टिङ हुने व्यवस्था गरिएको स्रोतले जनाएको छ । प्राप्त प्रतिवेदनका आधारमा सम्बन्धित कार्यालयलाई सुधारका लागि निर्देशन दिनुका साथै आवश्यक परे थप कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार सेवा प्रवाह प्रभावकारी बनाउन तथा सरकारी कार्यालयप्रति नागरिकको विश्वास बढाउन यस्तो अभियान सुरु गरिएको हो । टोली सातै प्रदेशमा परिचालन भइसकेको र अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ ।







