काठमाडौँ । राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबार परिसरभित्र रहेको साविक राहदानी विभागको भवनबाट सेवा सञ्चालन गर्ने तयारी अघि बढाएको छ।
आयोगका सदस्य तथा प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडा का अनुसार प्रशासनिक कार्य नयाँ भवनबाट सुरु भइसकेको छ भने एक साताभित्र आयोगका सम्पूर्ण सेवा त्यहीँबाट सञ्चालन गर्ने योजना रहेको छ।
हाल आयोगको ११४५ हेल्पलाइन तथा उजुरीसम्बन्धी सेवा भद्रकालीस्थित कार्यालयबाट सञ्चालन भइरहे पनि केही दिनभित्र ती सेवा समेत नारायणहिटीस्थित भवनमा स्थानान्तरण गरिने जनाइएको छ। आयोगले नयाँ भवनको आन्तरिक व्यवस्थापन कार्य पूरा भइसकेको जानकारी दिएको छ।
स्थापनाकालदेखि आयोग भद्रकालीस्थित भाडाको भवनमा सञ्चालन हुँदै आएको थियो। पछिल्लो समय आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड को भवनसमेत प्रयोग गर्दै आएको थियो। आयोगका अनुसार पानी, बिजुलीलगायत सुविधा सहित मासिक करिब चार लाख रुपैयाँ भाडा खर्च हुँदै आएको थियो।
प्रवक्ता पौडेलले सरकारी भवन प्रयोगमा आएपछि भाडा तिर्नुपर्ने अवस्था अन्त्य हुने र संवैधानिक आयोगको संस्थागत गरिमा समेत कायम हुने विश्वास व्यक्त गरिन्। उनका अनुसार नारायणहिटीस्थित भवन तुलनात्मक रूपमा सुविधायुक्त भएकाले सेवाग्राहीलाई पनि सहज हुने अपेक्षा गरिएको छ।
यसअघि २०८० असोज २१ गतेको मन्त्रिस्तरीय निर्णयमार्फत आयोगलाई उक्त भवनमा सार्ने निर्णय भएको थियो। तर प्रशासनिक प्रक्रियागत कारणले कार्यान्वयन हुन सकेको थिएन।
पछिल्लो समय सरकारको प्रशासनिक सहजीकरणपछि स्थानान्तरण प्रक्रिया अघि बढाइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले गत वैशाख २२ गते आयोगलाई सरकारी भवन प्रयोगका लागि पत्राचार गरेको जनाएको छ।
प्रधानमन्त्री कार्यालयसँग आबद्ध अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहाल का अनुसार प्रयोगविहीन सरकारी संरचनाको उपयोग बढाउने तथा संवैधानिक निकायलाई अनावश्यक भाडा खर्चबाट मुक्त गर्ने उद्देश्यले आवश्यक व्यवस्थापन गरिएको हो।
प्रधानमन्त्री कार्यालयको समन्वयमा साविक राहदानी विभागले प्रयोग गरेका कक्षहरूमा रहेका पुराना सामग्री तथा अभिलेख व्यवस्थापन गरी आयोगलाई कार्यालय सञ्चालनका लागि उपलब्ध गराइएको बताइएको छ।
आयोगले महिला तथा बालबालिकामाथि हुने हिंसा, विभेद तथा अधिकारसम्बन्धी उजुरीमा सेवा प्रदान गर्दै आएको छ। आयोगका अनुसार दैनिक २० देखि २५ जनाले प्रत्यक्ष सेवा लिने गरेका छन् भने ११४५ हेल्पलाइनमार्फत देश तथा विदेशबाट औसत ५० भन्दा बढी सेवाग्राहीले दैनिक रूपमा सम्पर्क गर्ने गरेका छन्।







