काठमाडौँ । जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध विभिन्न अदालतमा दायर गरिएका सबै मुद्दा फिर्ता लिएको जनाएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तरले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमार्फत क्यानसँग सम्बन्धित सबै कानुनी विवादहरू तत्काल प्रभावबाट फिर्ता लिन तयार रहेको जानकारी दिएका हुन् ।
जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल प्रिमियर लिगको आधिकारिकता, स्वामित्व तथा बौद्धिक सम्पत्तिसम्बन्धी विषयमा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।
अख्तरका अनुसार खेलकुद क्षेत्रका समस्या र विकृतिविरुद्ध आफू लामो समयदेखि आवाज उठाउँदै आएको उल्लेख गर्दै अदालत जाने निर्णय व्यक्तिगत कारण नभई खेल क्षेत्रको सुधार र समग्र विकासका उद्देश्यले गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद क्षेत्रमा एकताबद्ध सहकार्य आवश्यक रहेको भन्दै दिएको आग्रहलाई सकारात्मक रूपमा लिँदै मुद्दा फिर्ता लिने निर्णय गरिएको उनले स्पष्ट पारेका छन् ।
यद्यपि, आफ्नो नाममा दर्ता रहेको ‘नेपाल प्रिमियर लिग प्राइभेट लिमिटेड’ तथा सो कम्पनीसँग सम्बन्धित बैंक खातामाथिको स्वामित्व यथावत् रहने जानकारी पनि उनले दिएका छन् ।
आगामी दिनमा नेपालमा क्रिकेट तथा समग्र खेलकुद विकासका लागि सम्बन्धित निकायसँग सहकार्य जारी राख्ने प्रतिबद्धता समेत कम्पनीले व्यक्त गरेको छ ।







