काठमाडौँ । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनामा निष्पक्ष अनुसन्धानलगायत माग राख्दै २३ दिनदेखि अनशनमा रहेकी अधिकारकर्मी रूबी खानले सरकारसँग भएको सहमतिपछि आफ्नो अनशन समाप्त गरेकी छन् ।
बुधबार सरकारका प्रतिनिधि र खानबीच पाँच बुँदे सहमति भएपछि उनले अनशन तोडेकी हुन् । उनलाई प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पानी खुवाएर अनशन समाप्त गराएकी थिइन् ।
अनशनस्थल बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल) मा सरकारका तर्फबाट विशेष वार्ता टोली खटिएको थियो । उक्त टोलीमा प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर, गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्ले र दाहाल सहभागी थिए ।
दुई दिनदेखि चलेको निरन्तर वार्ता र सहजीकरणपछि गृह मन्त्रालयका सहसचिव र खानबीच सहमति पत्रमा हस्ताक्षर गरिएको जनाइएको छ । सहमति पछि खानले सरकार तथा प्रधानमन्त्रीप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।
सहमतिअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा २०७७ चैत २० गते दर्ता भएको निर्मला कुर्मी प्रकरणसम्बन्धी अनुसन्धानको हालसम्मको अवस्थाको अध्ययन गरी शीघ्र न्यायिक प्रक्रियामा अघि बढाइनेछ ।
त्यस्तै, उठाइएका अन्य घटनासम्बन्धी अनुसन्धानलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमार्फत छानबिन गरिने तथा कमजोरी भेटिए सम्बन्धित प्रहरी कर्मचारीमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने सहमति भएको छ ।
यसैगरी, खानविरुद्ध दर्ता भएको सार्वजनिक शान्ति सम्बन्धी मुद्दाको अनुसन्धान प्रक्रिया छिटो टुंग्याउन निर्देशन दिने तथा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुखलगायतको भूमिकामाथि प्रहरी प्रधान कार्यालयले छुट्टै छानबिन गर्ने सहमति पनि भएको छ ।
साथै आन्दोलनरत अधिकारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेलाई आवश्यक निर्देशन दिने सहमति गरिएको छ ।
सहमति पत्रमा मानव अधिकार तथा महिला अधिकार क्षेत्रमा सक्रिय विभिन्न संस्थाका प्रतिनिधिहरूले रोहबरका रूपमा हस्ताक्षर गरेका छन् । उनीहरूमा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, एड्भोकेसी फोरम लुम्बिनी संयोजक वसन्त गौतम, महिला अधिकार मञ्चका प्रवक्ता मोहम्मद शेर बागवान, अध्यक्ष मनकुमारी गुरताल र सदस्य गीता रैदास रहेका छन् ।








