काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट निर्माणसम्बन्धी छलफलका क्रममा पूर्व अर्थमन्त्रीहरूले आर्थिक सुधार, स्रोत परिचालन र विकास परियोजनाको कार्यान्वयनमा सरकारलाई स्पष्ट सुझाव दिएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आह्वानमा भएको छलफलमा पूर्व अर्थमन्त्री विष्णु पौडेलले देशभित्र रहेका खानी तथा प्राकृतिक स्रोतको व्यावसायिक उपयोगमा ढिलाइ नगर्नुपर्ने धारणा राखेका हुन्।
उनका अनुसार खानी विभागले पहिचान गरिसकेका स्रोतहरूको उत्खनन र उपयोगमा सरकारले स्पष्ट निर्णय लिनुपर्ने समय आएको छ। पौडेलले विगतमा ढुंगा-गिट्टी तथा खानीजन्य स्रोतको उपयोगसम्बन्धी विषयमा विवाद र आलोचना भए पनि अब नीतिगत स्पष्टता र कार्यान्वयन क्षमता आवश्यक रहेको टिप्पणी गरेका छन्।
पूर्व अर्थमन्त्री पौडेलले बलियो राजनीतिक जनमत र सरकार रहेको वर्तमान परिस्थितिमा प्रतिबद्धताअनुसारको बजेट निर्माण गर्न सकिने उल्लेख गर्दै नीति कार्यान्वयनमा हिचकिचाहट नगर्न आग्रह गरे।
उनले बजेट निर्माण परम्परागत रूपमा खर्च अनुमानको आधारमा मात्र नभई वास्तविक स्रोत र सम्भावित आम्दानीलाई समेत आधार बनाएर गर्नुपर्नेमा जोड दिएका छन्। साथै, संघीय, प्रदेश र स्थानीय निर्वाचनलाई लक्षित गरेर बजेट निर्माण गर्ने प्रवृत्ति त्याग्नुपर्ने उनको भनाइ थियो।
यसैबीच, उनले ‘गेम चेन्जर’ मानिएका परियोजनाहरूलाई केवल घोषणामा सीमित नराखी तत्काल कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता पनि औँल्याएका छन्।







