काठमाडौं, जेठ ११ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि दबाब, धम्की र नियोजित गतिविधि भएको दाबी गर्दै प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले छुट्टाछुट्टै विज्ञप्तिमार्फत घटनाप्रति ध्यानाकर्षण गराएका छन् । दुवै संगठनले घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार पक्षमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।
प्रेस चौतारी नेपालले शनिबार जारी गरेको विज्ञप्तिमा जनआस्था साप्ताहिक र त्यसमा प्रकाशित समाचारलाई आधार बनाएर पत्रकार श्रेष्ठलाई लक्षित गरी घरपक्राउको तयारी, धम्की, समाचार स्रोत खुलाउन दबाब तथा मानसिक तनाव सिर्जना गर्ने प्रयास भएको उल्लेख गरेको छ । विज्ञप्तिमा यस्ता गतिविधिले प्रेस स्वतन्त्रता र पत्रकारितामाथि प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिअनुसार, पत्रकार श्रेष्ठले आफूमाथि लगाइएका आरोपबारे निष्पक्ष छानबिनको माग गरिरहेको अवस्थामा उनीमाथि दबाब र निगरानी बढाइएको भन्दै त्यसले राज्य संयन्त्रको व्यवहार तथा न्याय प्रणालीको निष्पक्षतामाथि प्रश्न उठाएको जनाइएको छ ।
यस्तै, प्रेस सेन्टर नेपालले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट पत्रकार श्रेष्ठ र जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की तथा ‘षड्यन्त्रपूर्ण गतिविधि’ भइरहेको उल्लेख गरेको छ । संगठनले केही घटनाले पत्रकार श्रेष्ठविरुद्ध योजनाबद्ध दबाबको आशंका बढाएको जनाएको छ ।
प्रेस सेन्टर नेपालको विज्ञप्तिमा विदेशी नम्बरबाट फोन आउने, जनआस्था साप्ताहिकको कार्यालय नजिक मदिराको बोतल तथा नगद रकम छाडिएको र केही समाचारका लागि आर्थिक प्रलोभन दिन खोजिएको उल्लेख गरिएको छ । यस्ता गतिविधिले पत्रकारमाथि दबाब सिर्जना गर्नुका साथै प्रेस स्वतन्त्रतामा असर पार्न सक्ने संगठनको भनाइ छ ।
दुवै संगठनले पत्रकारिता लोकतन्त्रको आधारभूत पक्ष भएको उल्लेख गर्दै पत्रकार वा सञ्चारमाध्यममाथि हुने दबाब, धम्की, हस्तक्षेप वा प्रतिशोधका गतिविधि स्वीकार्य हुन नसक्ने बताएका छन् । साथै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी पहिचान गर्न र संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकाय तथा सबै पक्षसँग आग्रह गरेका छन् ।
प्रेस चौतारी नेपालले सम्पूर्ण घटनाको स्वतन्त्र र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ भने प्रेस सेन्टर नेपालले पनि निष्पक्ष अनुसन्धानमार्फत जिम्मेवार पक्षमाथि कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।







