काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य मिङ्मा डेभिड शेर्पा सगरमाथा आरोहण सम्पन्न गरी काठमाडौँ फर्किएका छन्।
उनले संघीय संसद्को लोगो अंकित झण्डा बोकेर बुधबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन्। बिहान ५ बजेर ४० मिनेटमा उनले शिखरमा पुगेको जानकारी सार्वजनिक गरिएको छ।
‘सदनदेखि शिखरसम्म’ भन्ने नारासहित आरोहण अभियानमा सहभागी भएका शेर्पाले नवौँ दिनमा सगरमाथाको चुचुरोमा पुग्दै संसद् र हिमालबीचको प्रतीकात्मक सन्देश विश्व समुदायसमक्ष प्रस्तुत गरेको जनाइएको छ।
३७ वर्षीय मिङ्मा ग्याबु शेर्पा पर्वतारोहण क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा परिचित व्यक्तित्व मानिन्छन्। ‘मिङ्मा डेभिड’ नामबाट परिचित उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गर्ने सबैभन्दा कम उमेरका आरोहीमध्ये एकको कीर्तिमान बनाएका छन्।
उनी २०८२ सालको आम निर्वाचनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनजाति समानुपातिक समूहअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।







