काठमाडौँ । मनसुनका बेला सम्भावित बाढी, पहिरो र डुबानजस्ता विपद् न्यूनीकरण तथा उद्धार क्षमतालाई सुदृढ बनाउने उद्देश्यसहित ताप्लेजुङमा नमुना विपद् व्यवस्थापन अभ्यास प्रदर्शन गरिएको छ।
जिल्लाको दोभान क्षेत्रमा रहेको तमोर नदी किनारमा नेपाली सेनाको इन्द्रदल गुल्मको अगुवाइमा बिहीबार उक्त अभ्यास सञ्चालन गरिएको हो। फुङ्लिङ नगरपालिका, मेरिङ्देन गाउँपालिका, मैवाखोला गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको संगमस्थलमा गरिएको अभ्यासमा बाढीजन्य विपद्पछि गरिने उद्धार तथा प्राथमिक उपचार प्रक्रियाको कृत्रिम अभ्यास गरिएको जनाइएको छ।
अभ्यासमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीले बाढीका बेला उद्धार तथा राहत कार्य कसरी सञ्चालन गर्ने भन्ने विषयमा प्रयोगात्मक प्रदर्शन गरेका थिए। मनसुन अवधिमा हुने सम्भावित जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी र प्रतिक्रिया क्षमतामा सुधार ल्याउने उद्देश्यले कार्यक्रम गरिएको बताइएको छ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसहित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। नेपाली सेना इन्द्रदल गुल्मका प्रतिनिधि, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जिल्ला प्रमुखहरू पनि अभ्यास अवलोकनमा सहभागी भएका थिए।







