काठमाडौँ । राष्ट्रिय सभाकी सदस्य गोमादेवी तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै यसले समाजका विभिन्न वर्ग र समुदायका अपेक्षालाई समग्र रूपमा सम्बोधन गर्न नसकेको बताएकी छन्।
आइतबार राष्ट्रिय सभाको शून्य समयमा धारणा राख्दै उनले बजेट निर्माणमा सरकारले प्रयास गरे पनि त्यसको प्रभावकारिता र प्राथमिकतामा कमी देखिएको उल्लेख गरिन्। बजेटप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्दै उनले यसलाई आवश्यक सन्तुलन र प्रभाव नपुगेको दस्ताबेजका रूपमा टिप्पणी गरिन्।
उनका अनुसार सरकारले औद्योगिक क्षेत्र सञ्चालन र प्रवर्द्धनका विषयलाई प्राथमिकतामा राखेको उल्लेख गरे पनि त्यसअनुरूप पर्याप्त वित्तीय स्रोत सुनिश्चित गरेको देखिँदैन। नीतिगत घोषणा मात्र पर्याप्त नहुने भन्दै उनले उद्योग सञ्चालनका लागि आवश्यक बजेट र कार्यान्वयनको स्पष्ट आधार आवश्यक पर्ने धारणा राखिन्।
सांसद तिमिल्सिनाले बजेटमा निम्न आय भएका नागरिक, किसान तथा श्रमिक वर्गलाई लक्षित कार्यक्रम पर्याप्त रूपमा नसमेटिएको बताइन्। साथै, भूमिहीन तथा सुकुम्वासी समुदायका समस्या समाधानका लागि अपेक्षित कार्यक्रम र योजनाको अभाव रहेको उनको भनाइ थियो।
बजेटमा उठाइएका यी विषयबारे सरकारले संसद्मा स्पष्ट जवाफ दिनुपर्ने मागसमेत उनले गरेकी छन्।







