काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा व्यक्त गरेको विवादास्पद भनाइलाई लिएर प्रतिपक्षी दलहरूले आजको प्रतिनिधि सभा बैठकमा सशक्त विरोध जनाउने तयारी गरेका छन्।
उक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने मागसहित प्रतिपक्षी दलहरूले बैठक प्रारम्भ भएदेखि नै विरोधका कार्यक्रम अघि बढाउने संकेत दिएका छन्।
यस विषयमा प्रतिपक्षी दलहरूबीच अघिल्लो दिन नै प्रारम्भिक समझदारी बनेको बताइएको छ। हिजोको बैठकका क्रममा प्रधानमन्त्री अचानक संसदमा उपस्थित भई सांसदहरूलाई प्रश्न राख्न आग्रह गरेका थिए। सोही क्रममा दिएको जवाफमा नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति आएको भन्दै त्यसको राजनीतिक तथा संसदीय वृत्तमा आलोचना भइरहेको छ।
बैठककै क्रममा केही प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए। तर, सभामुख डीपी अर्यालले त्यसबारे कुनै निर्णय वा प्रतिक्रिया नजनाएको जनाइएको छ।
हिजोको संसद् बैठक अन्य विषयलाई लिएर पनि तनावपूर्ण बनेको थियो। विशेष गरी सभामुखले संसद् नियमावली पारित गर्ने प्रक्रिया अघि बढाएको विषयमा प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका थिए।
आजको बैठकमा भने प्रतिपक्षी दलहरूको मुख्य ध्यान प्रधानमन्त्रीको अभिव्यक्तिमाथि केन्द्रित रहने देखिएको छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।







