काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रमाण प्रस्तुत गर्न माग गरेको छ।
सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको भनाइ जिम्मेवार पदअनुसार प्रमाणमा आधारित हुनुपर्ने बताए। उनले लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता भए पनि कार्यकारी पदमा बसेका व्यक्तिको बोली तथ्यमा आधारित हुन आवश्यक रहेको धारणा राखे।
शाहीले अनुमानका भरमा सार्वजनिक अभिव्यक्ति दिनु उपयुक्त नहुने भन्दै यस्ता विषयले राज्यको विश्वसनीयतामा असर पार्न सक्ने बताए। उनका अनुसार राष्ट्रसँग सम्बन्धित संवेदनशील विषयहरूमा हचुवाको आधारमा टिप्पणी गर्न नहुनेमा उनले जोड दिए।
उनले प्रधानमन्त्रीले सीमा सम्बन्धी आफ्नो भनाइलाई पुष्टि गर्ने आधिकारिक प्रमाण सार्वजनिक गर्नुपर्ने माग गरे। साथै तथ्यविहीन भनाइलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने धारणा पनि उनले राखे।







