काठमाडौँ । नेपाली सेनाको आयोजनामा ‘अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र शान्ति सेना दिवस’ श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा विशेष कार्यक्रमका साथ सोमबार मनाइएको छ ।

विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ खटिई कार्य गरिसकेका र हाल तैनाथ रहेका शान्ति सैनिकहरूको योगदानको सम्मानमा हरेक वर्ष तदनुसार मे २९ मा ‘अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र शान्ति सेना दिवस’ मनाइने गरिन्छ ।
कार्यक्रममा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले मिसन इलाकामा वीरगति प्राप्त गर्ने २ (दुई) जना सैनिकका परिवारलाई सम्मान पत्र र शान्ति स्थापनार्थ खटिई उत्कृष्ट कार्य गर्ने ५ (पाँच) जना सैनिकहरूलाई कदर पत्र प्रदान गरेका थिए ।

समारोहमा रक्षा सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, काभ्रेपलान्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, मित्रराष्ट्रहरूका सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू लगायत नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।

संयुक्त राष्ट्र संघको आव्हानमा सन् १९५८ बाट शान्ति सैनिक खटाउँदै आएको नेपाल, शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचिमा पहिलो स्थानमा रहेको छ । संयुक्त राष्ट्र संघीय मिसन अन्तर्गत हाल विश्वका विभिन्न ९ वटा मिसनहरूमा नेपाली सेनाका ४,१७९ जना शान्ति सैनिकहरू कार्यरत छन्। विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका ७४ जना सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने ७७ जना सैनिकहरू घाइते भएका छन् ।








