काठमाडौँ। काठमाडौँको ठमेल क्षेत्रमा होटलमा बसोबास गर्दै सामाजिक सञ्जालमार्फत नक्कली परिचय प्रयोग गरी अनलाइन गतिविधि सञ्चालन गरेको आशंकामा १५ जना बांङ्लादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार उनीहरू पर्यटक प्रयोजनका लागि प्राप्त भिजिट भिसामा नेपाल प्रवेश गरे पनि भिसाको घोषित उद्देश्यअनुरूप नभई शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा कारबाही गरिएको हो।
प्रारम्भिक अनुसन्धानबाट विदेशी मोडल तथा युवतीहरूको नाम र तस्बिर प्रयोग गरी नक्कली सामाजिक सञ्जाल खाता सञ्चालन गरिएको तथा त्यस्ता खातामार्फत विभिन्न व्यक्तिसँग सम्पर्क र आर्थिक लेनदेनसम्बन्धी बार्गेनिङ हुने गरेको आशंका गरिएको प्रहरीले जनाएको छ।
ठमेलस्थित एक होटेलको कोठा भाडामा लिएर उक्त गतिविधि सञ्चालन भइरहेको सूचनापछि प्रहरी टोलीले निगरानी तथा अनुसन्धान अघि बढाएको थियो। त्यसक्रममा १५ जना बांङ्लादेशी नागरिकलाई नियन्त्रणमा लिइएको बताइएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको विवरण तथा उनीहरूमाथि लाग्न सक्ने कानुनी प्रक्रिया अनुसन्धानको प्रगतिअनुसार सार्वजनिक गरिने जनाइएको छ।








