काठमाडौँ । सरुवा भएको ५५ दिनपछि हाजिर हुन पुगेका प्रमुख प्रशासकीय अधिकृतलाई पालिकाले घडी र भित्तेपात्रो उपहार दिएको छ।
कालीकोटको महावै गाउँपालिकाले ५५ दिनपछि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालालाई घडी र भित्तेपात्रो उपहार दिएको हो। समयको महत्त्व स्मरण गराउने उद्देश्यले समय मापनका लागि प्रयोग हुने घडी र भित्तेपात्रो उपहारस्वरूप प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले जानकारी दिए।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ५५ दिनपछि प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा हाजिर हुन पुगेपछि गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले घडी र भित्तेपात्रो उपहार प्रदान गरेका हुन्। ‘सरुवा भएको ५५ दिनपछि गाउँपालिकाको कार्यालयमा हाजिर हुन पुगेका प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई घडी र भित्तेपात्रो उपहार दिएका हौँ,’ उपाध्यक्ष सेजुवालले भने, ‘यो उपहार पालिका अध्यक्ष खेमबहादुर सिंहले दिनुभएको हो।’
निजामती सेवा नियमावली, २०५० को नियम ३९ मा सरुवा भएको कार्यालयमा हाजिर हुने व्यवस्था गरिएको छ भने नियम ४० मा सरुवा भएको २१ दिनभित्र हाजिर नभएमा कारबाही गरिने उल्लेख छ।
मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई २०८२ चैत १९ गते महावै गाउँपालिकामा सरुवा गरेको थियो। तर उनी २०८३ जेठ १४ गते मात्रै पालिकामा हाजिर भएको पालिका स्रोतले जनाएको छ।







