काठमाडौँ । चोरी तथा भन्सार छलीका मोबाइल फोनको किनबेच र अनधिकृत रूपमा लक हटाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त गौशालाको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई ४२ थान मोबाइल बरामद गरेको हो।
पक्राउ पर्नेहरूमा रौतहट गौर नगरपालिका-६ का २० वर्षीय रवीन्द्र पासवान, काठमाडौँ चाबहिलका २५ वर्षीय सुजन बस्नेत, धादिङ धुनिबेशी नगरपालिका-६ का ३३ वर्षीय जनक लामा तथा सप्तरीका ३२ वर्षीय प्रमोद शाह रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये पासवान र बस्नेत मोबाइल चोरी गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। लामा चोरी तथा अवैध रूपमा भित्र्याइएका मोबाइल खरिद गर्ने मोबाइल पसल सञ्चालक रहेको र शाह भन्सार छलिएका मोबाइलको लक हटाउने कार्यमा संलग्न रहेको बताइएको छ।
१७ जेठको बिहान चाबहिल क्षेत्रबाट पासवानलाई नियन्त्रणमा लिँदा उनको साथबाट आईफोन र रेडमी ब्रान्डका मोबाइल फेला परेका थिए। सोधपुछका क्रममा उनले ती फोन बस्नेतबाट प्राप्त भएको बताएका थिए।
त्यसपछि प्रहरीले सुकेधारा क्षेत्रबाट बस्नेतलाई पक्राउ गरेको थियो। उनको साथबाट इनफिनिक्स र ओप्पो ब्रान्डका मोबाइल बरामद गरिएको थियो।
अनुसन्धानका क्रममा चोरी गरिएका तथा भारतबाट अवैध रूपमा भित्र्याइएका मोबाइल लामालाई बिक्री गरिएको खुलेपछि उनको पसलबाट थप ३५ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
यसै क्रममा भन्सार छलेर ल्याइएका मोबाइलहरूको लक हटाउने कार्यमा संलग्न रहेको आरोपमा शाहलाई पनि पक्राउ गरिएको हो। उनको संलग्नतामा ७ थान मोबाइलको लक खोलिएको पाइएको र ती समेत गरी कुल ४२ थान मोबाइल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।







