काठमाडौँ। बागमती प्रदेश सरकारले अपांगता सम्बन्धी प्रादेशिक नीति २०८३ लाई औपचारिक स्वीकृति प्रदान गरेको छ। प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त नीति पारित गर्ने निर्णय गरेको हो।
सरकारी प्रवक्ता तथा आर्थिक मामिला एवं योजना मन्त्री प्रभात तामाङका अनुसार बैठकले प्रदेशका विभिन्न जिल्लामा ‘र्याप्टिङ’ स्कुल सञ्चालन गर्न सैद्धान्तिक सहमति पनि दिएको छ। यसलाई पर्यटन तथा सीप विकाससँग जोडिएको प्रारम्भिक कार्यक्रमका रूपमा अघि बढाइने उनले जानकारी दिए।
त्यसैगरी, प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत स्वास्थ्य सेवा समूहका दुई उपसचिवहरूको बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ। बढुवा हुनेमा सागरप्रसाद घिमिरे र शतिस विष्ट रहेका छन्।
मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्ष २०८३-८४ को दोस्रो सातादेखि लागू हुने गरी प्रशासनिक पुनर्संरचना गर्ने निर्णयसमेत गरेको छ। सो निर्णयअनुसार विभिन्न मन्त्रालय मातहत रहेका २०१ वटा कार्यालयलाई पुनर्गठन गरी संख्या घटाएर १९१ मा सीमित गरिनेछ।
प्रवक्ता तामाङका अनुसार यस पुनर्संरचनाले सरकारी सेवा प्रवाहलाई अझ प्रभावकारी, समन्वित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।







