काठमाडौँ । विद्युत् नियमन आयोगको नेतृत्व तथा सदस्य पदका लागि कुल ३२ जनाले आवेदन दिएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत गठित अध्यक्ष तथा सदस्य नियुक्ति सिफारिस समितिका अनुसार आयोगको अध्यक्ष पदका लागि १० जना र सदस्य पदका लागि २२ जनाको आवेदन प्राप्त भएको हो।
विद्युत् नियमन आयोग ऐन, २०७४ को व्यवस्था अनुसार आयोगमा एक जना अध्यक्ष र एक महिलासहित चार जना सदस्य नियुक्त गर्न जेठ ७ गते सार्वजनिक रूपमा आवेदन माग गरिएको थियो।
सिफारिस समितिले आवेदन पेश गर्न १५ दिनको अवधि निर्धारण गरेको थियो। उक्त अवधि जेठ २१ गते सम्पन्न हुँदा अध्यक्ष र सदस्य पदका लागि गरी ३२ वटा आवेदन दर्ता भएको समितिले जनाएको छ।
आयोगका रिक्त पदमा नियुक्तिका लागि प्राप्त आवेदनहरूको मूल्यांकन तथा छनोट प्रक्रिया सम्बन्धित कानुनी व्यवस्था बमोजिम अघि बढाइने जनाइएको छ।








