काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-३ बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएकी ३१ वर्षीया लक्ष्मी थापा कार्की र काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ३५ वर्षीया प्रिया बानिया रहेका छन् ।
प्रहरीका अनुसार लक्ष्मीले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ५० हजार रुपैयाँ र प्रियाले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएपछि पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई शुक्रवार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।







