काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको जिल्ला सभापतिमा हरि श्रेष्ठ चयन भएका छन्। शनिबार सम्पन्न पहिलो जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनको मत परिणाम अनुसार श्रेष्ठ सभापति पदमा निर्वाचित भएका हुन्।
उपसभापति पदमा प्रगति राना मगर चयन भएकी छन् भने सचिवमा देवराज पाण्डे निर्वाचित भएका छन्। त्यस्तै सह–सचिव पदमा सागर पाण्डे निर्विरोध रूपमा चयन भएको जनाइएको छ।
कोषाध्यक्ष पद भने पछि मनोनयनमार्फत तोकिने व्यवस्था गरिएको निवर्तमान जिल्ला सभापति भोजराज पाण्डेले जानकारी दिएका छन्। समितिको संरचना अनुसार जिल्ला कार्यसमिति ११ सदस्यीय रहने व्यवस्था रहेको छ, जसअनुसार ९ सदस्य निर्वाचनमार्फत चयन हुने र बाँकी २ सदस्य जिल्ला सभापतिबाट मनोनयन गरिने प्रावधान छ। मनोनीत सदस्यहरूमध्येबाट एक जनालाई कोषाध्यक्षको जिम्मेवारी दिइनेछ।
निर्वाचनमार्फत चयन भएका सदस्यहरूमा माया जिसी, देवीका राना, प्रेमबहादुर सुनार, भागवत गिरी, दीक्षा भण्डारी, असिम भण्डारी र तुलसा पोख्रेल रहेका छन्।
अधिवेशन कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू सागर ढकाल, गोविन्द पन्थी, श्रद्धा कुँवरलगायत नेताहरूको उपस्थिति रहेको थियो।
पार्टीका अनुसार गुल्मी जिल्लामा रहेका १२ स्थानीय तहमध्ये ११ पालिकामा अधिवेशन सम्पन्न भएपछि मात्र जिल्ला अधिवेशन आयोजना गरिएको हो। गुल्मीदरबार गाउँपालिकामा केही वडा स्तरका अधिवेशन बाँकी रहेकाले त्यहाँको प्रक्रिया पूरा भएपछि मात्रै पालिका अधिवेशन सम्पन्न हुने जनाइएको छ।
पार्टीको विधानअनुसार गाउँपालिका तहमा ११ सदस्यीय र नगरपालिका तहमा १५ सदस्यीय समिति गठन हुने व्यवस्था रहेको पनि जनाइएको छ।







