काठमाडौँ । प्रतिनिधि सभा बैठकमा नेकपा सांसद महेन्द्रबहादुर शाहीले संसद् सञ्चालनको शैली र पछिल्ला राजनीतिक विवादप्रति गम्भीर टिप्पणी गरेका छन्।
बैठकमा बोल्दै उनले संसद्लाई जबरजस्ती अघि बढाउने प्रयासले अपेक्षित परिणाम नदिने भन्दै संसदीय मर्यादा र प्रक्रियाको सम्मान आवश्यक रहेको धारणा राखे। सभामुखलाई लक्षित गर्दै उनले संसद्को अभिभावकीय भूमिकामा रहँदा संस्थागत गरिमा कायम राख्नुपर्नेमा जोड दिए।
सांसद शाहीले प्रधानमन्त्रीले राष्ट्रिय संवेदनशीलतासँग सम्बन्धित विषयमा गम्भीर त्रुटिपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसबारे पुनः सदनमै स्पष्टीकरण आवश्यक रहेको बताए। उनका अनुसार यस विषयलाई सामान्य राजनीतिक विवादका रूपमा मात्र बुझ्न नहुने भन्दै जनस्तरमा समेत यसको प्रभावबारे प्रश्न उठिरहेको छ।
उनले सरकारका गतिविधिप्रति लक्षित गर्दै पछिल्ला समय विभिन्न प्रकरणहरू सार्वजनिक हुँदै गएको उल्लेख गरे। साथै, अर्थमन्त्रीसँग सम्बन्धित विषय पनि गम्भीर बहसको केन्द्रमा रहेको भन्दै त्यसबारे सरकार र सम्बन्धित पक्षले स्पष्ट जवाफ दिनुपर्ने आवश्यकता औँल्याए।
सांसद शाहीले प्रतिपक्ष मात्र होइन, आम नागरिकले समेत उठाइरहेका प्रश्नको उत्तर सरकारले दिनुपर्ने धारणा राख्दै संसदमा उठेका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरे।







