काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय तथा मातहतका सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन विशेष निगरानी संयन्त्र गठन गर्ने निर्णय गरेका छन्।
दोस्रो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै पदबहालीका क्रममा उनले गृह मन्त्रालय र सुरक्षा निकायभित्र हुने सम्भावित सूचना चुहावटका घटनामाथि सूक्ष्म निगरानी बढाउने तथा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाउने उद्देश्यले सेन्सिटिभ इन्फर्मेसन भिजिलेन्स टिम (एसआईभीटी) गठन गर्ने निर्णय गरेका हुन्।
उक्त टोलीले गृह मन्त्रालय र सुरक्षा निकायभित्रका संवेदनशील सूचना व्यवस्थापन, सूचना सुरक्षाको अवस्था, चुहावटको जोखिम तथा त्यससँग सम्बन्धित गतिविधिमाथि नियमित निगरानी गर्ने बताइएको छ। सूचना चुहावटका घटनालाई नियन्त्रण गर्दै संस्थागत गोपनीयता र सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो व्यवस्था अघि बढाइएको जनाइएको छ।







