काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीअन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय गरेका छन्।
दोस्रो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै पदबहालीका क्रममा उनले ब्यूरोको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने, प्रक्रियामा रहेका अनुसन्धान फाइलहरू शीघ्र टुंगोमा पुर्याउने तथा जघन्य, आर्थिक र संगठित अपराधका मुद्दा अनुसन्धानलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न निर्णय गरेका हुन्।
गृह मन्त्रालय प्रशासन स्रोतका अनुसार हाल अनुसन्धान प्रक्रियामा रहेका फाइलहरूको अवस्था समीक्षा गरी तिनलाई यथाशीघ्र निष्कर्षमा पुर्याउन सम्बन्धित निकायलाई निर्देशन दिइनेछ। लामो समयदेखि विचाराधीन रहेका अनुसन्धानका विषयलाई प्राथमिकताका साथ अघि बढाउने लक्ष्य राखिएको जनाएको छ।
त्यसैगरी जघन्य अपराध, आर्थिक अपराध, संगठित अपराध तथा अन्य गम्भीर प्रकृतिका मुद्दाको अनुसन्धानलाई विशेषज्ञतामा आधारित बनाउने उद्देश्यले सीआईबीभित्र विशिष्टीकृत टोली (स्पेसलाइज्ड टिम) गठन गर्ने निर्णय पनि गरिएको छ। मुद्दाको प्रकृतिअनुसार गठन हुने उक्त टोलीले सम्बन्धित क्षेत्रका अनुसन्धानलाई केन्द्रित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार पछिल्ला वर्षहरूमा आर्थिक तथा संगठित अपराधका स्वरूप जटिल बन्दै गएको सन्दर्भमा अनुसन्धान प्रणालीलाई थप व्यावसायिक, प्रविधिमैत्री र परिणाममुखी बनाउन यो कदम चालिएको हो।
गृहमन्त्री गुरुङले कानुन कार्यान्वयन तथा अपराध अनुसन्धानलाई प्रभावकारी बनाउँदै सुशासन, जवाफदेहिता र विधिको शासनलाई थप सुदृढ गर्ने लक्ष्यका साथ आवश्यक सुधारका कार्यक्रम अघि बढाइने बताएका छन्।







