काठमाडौँ । नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गतको जिल्ला प्रहरी कार्यालय मोरङ (प्रबन्ध शाखा) ले आफ्नो कार्यालय तथा मातहतका कार्यालयहरूमा रहेका पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गर्ने भएको छ।
प्रबन्ध शाखाले आज गोरखापत्र दैनिकमा २१ दिने सार्वजनिक सूचना जारी गर्दै २ सय २ थान मोटरसाइकल तथा स्कुटरहरू लिलाम बिक्री गर्न लागेको जानकारी दिएको हो।
लिलाम प्रक्रियामा सहभागी हुन इच्छुक इजाजतप्राप्त कम्पनीहरूले २१ दिनभित्र बोलपत्र फाराम खरिद गरी आवेदन दिन सक्ने प्रहरी कार्यालयले जनाएको छ ।
विभिन्न समयमा बरामद गरिएका वा बेवारिसे अवस्थामा फेला परी कानुनी प्रक्रिया पूरा भएका यी सवारी साधनहरूलाई नियमअनुसार लिलाम गर्न लागिएको हो।








