काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत विद्युत् प्रसारण आयोजनाका दुई नयाँ सबस्टेशन तथा २९७ किलोमिटर लामो प्रसारण लाइन निर्माण कार्यको औपचारिक शुभारम्भ गरेको छ।
नुवाकोटमा आयोजित कार्यक्रममा रातमाटे र नयाँ दमौली सबस्टेशनसँगै प्रसारण लाइन विस्तार योजनाको शिलान्यास गरिएको हो। आयोजनामा अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख अमेरिकी डलर बराबरको लगानी रहेको जनाइएको छ।
कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारी, एमसीसी र अमेरिकी दूतावासका प्रतिनिधि, विकास साझेदार, निर्माण व्यवसायी तथा स्थानीय समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो।
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत तीनवटा ४०० केभी क्षमताका सबस्टेशन र कुल ३१५ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने योजना रहेको छ। यसले राष्ट्रिय विद्युत् प्रसारण प्रणालीलाई थप सुदृढ बनाउनुका साथै प्रसारण अवरोध घटाएर घरपरिवार, व्यवसाय तथा उद्योगका लागि विद्युत् आपूर्तिलाई भरपर्दो बनाउने अपेक्षा गरिएको छ। साथै, क्षेत्रीय विद्युत् व्यापारमा नेपालको सहभागिता विस्तार गर्न पनि यसले योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
आज सुरु गरिएको २९७ किलोमिटर प्रसारण लाइनमा लप्सीफेदी-रातमाटे-न्यू हेटौँडा, रातमाटे-न्यू दमौली तथा न्यू दमौली-न्यू बुटवल खण्ड समावेश छन्।
अर्थ सचिव तथा एमसीए-नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले विद्युत् प्रसारण पूर्वाधारको विस्तारलाई नेपालको आर्थिक भविष्यसँग जोडिएको रणनीतिक लगानीका रूपमा व्याख्या गरे। ऊर्जा सुरक्षा, औद्योगिक विकास र लगानी प्रवर्द्धनका लागि यस्ता परियोजना महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले एमसीसीमार्फत दुई देशबीचको सहकार्य अझ सुदृढ हुँदै गएको उल्लेख गर्दै परियोजनाले नेपालको ऊर्जा क्षेत्रको दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले प्रसारण पूर्वाधारको विस्तारले घरपरिवार, व्यवसाय र उद्योगका लागि स्थिर विद्युत् आपूर्ति सुनिश्चित गर्न मद्दत गर्ने बताए। नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले निर्माणाधीन संरचनाहरू राष्ट्रिय प्रसारण सञ्जालकै अभिन्न हिस्सा भएको स्पष्ट पारे।
एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले परियोजनाको शुभारम्भलाई नेपालको ऊर्जा पूर्वाधार विकासमा महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे।
आयोजनाअन्तर्गत रातमाटे र नयाँ दमौली सबस्टेशन निर्माणको जिम्मा टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ। त्यसैगरी, लप्सीफेदी-रातमाटे-न्यू हेटौँडा प्रसारण लाइन आशिष-बोझ्लर संयुक्त उपक्रम, रातमाटे-न्यू दमौली खण्ड एञ्जेलिक-स्किपर संयुक्त उपक्रम तथा न्यू दमौली-न्यू बुटवल खण्ड वाइबा-सालसर संयुक्त उपक्रमले निर्माण गर्नेछन्।
निर्माण सम्पन्न भएपछि रातमाटे र नयाँ दमौली नेपालका उच्च क्षमतायुक्त ठूला सबस्टेशनमध्ये पर्ने अपेक्षा गरिएको छ।







