काठमाडौँ । जग्गासम्बन्धी प्रशासनिक काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रकम माग गरेको आरोपमा नापी कार्यालय चाबहिलका एक अमिनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
अख्तियारका अनुसार चाबहिलस्थित २ नम्बर नापी टोलीमा कार्यरत अमिन टोपजंङ खत्रीले जग्गाको हालसाविक प्रक्रिया मिलाइ जग्गाधनी प्रमाणपुर्जा तयार गरिदिने नाममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा निगरानी तथा अनुसन्धान अघि बढाइएको थियो।
उजुरीपछि आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले खत्रीलाई सेवाग्राहीबाट ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
आयोगका अनुसार उनलाई उक्त रकमसहित काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ माकालवारी स्थित नापी कार्यालय परिसरबाट मंगलबार नियन्त्रणमा लिइएको हो।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।







