काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोबीच सुरोभत्सेभले शिष्टाचार भेटवार्ता गरेका छन् ।
उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त भेटवार्तामा उनीहरुबीच नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा सौहार्दपूर्ण संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र रुसी महासंघबीच मैत्रीपूर्ण एवं सौहार्दपूर्ण सम्बन्ध रही आएकोप्रति सन्तोष व्यक्त गरे ।
उपराष्ट्रपति यादवले यसैवर्ष दुई राष्ट्रबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्ष पूरा हुँदै गरेको प्रसंग उल्लेख गर्दै पारस्परिक सम्मान, समझदारी र मित्रताको अटुट बन्धनमा आधारित सम्बन्धलाई नेपालले सगौरव स्मरण गर्न चाहेको बताए । उनले नेपाललाई सोभियत संघकालदेखि मानव संसाधन विकास, पर्यटन, औद्योगिक तथा यातायात पूर्वाधारका क्षेत्रमा रुसले गरेको सहयोग प्रशंसनीय रहेको बताए ।
“पछिल्लो समयमा दुई राष्ट्रबीच बढ्दो सांस्कृतिक तथा जनस्तरको आदानप्रदानप्रति नेपालले प्रसन्नता व्यक्त गर्दछ”, उपराष्ट्रपति यादवले भने, “आगामी दिनमा नेपाल-रुस द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिँदै हाम्रो सम्बन्ध अझ सुदृढ हुने विश्वास लिएको छु ।”
सो अवसरमा राजदूत सुरोभत्सेभले नेपाल-रुस सम्बन्धलाई अझ बलियो बनाउन निरन्तर सहयोग रहने बताए । उनले रुस नेपाललाई जलविद्युत्, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको उल्लेख गरे ।






