काठमाडौँ । ई-सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । साइबर ब्युरो भोटाहिटी काठमाडौँबाट खटिएको प्रहरीले रौतहटको माधव नारायण नगरपालिका-२ बस्ने २२ वर्षीय शुभम साहलाई मंगलबार पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले ई-सेवाबाट बोलेको, तपाईँको ई-सेवामा धेरै रिवार्ड पोइन्ट रहेकोमा किन प्रयोग नगर्नु भएको भन्दै याक एण्ड को इन्टरप्राईजेजको मोबाइलमा पटक-पटक फोन गरी ओटिपी कोड लिई नगद १ लाख ९८ हजार ४ सय ९९ रुपैयाँ ईभोलुसोन टेड्रिङ प्रालिको ई-सेवा आईडीमा रकमान्तर गरेको र ईभोलुसोन टेड्रिङबाट आइफोन लिएको खुल्न आएको छ ।
प्रहरीले उनको साथबाट मोबाइल ४ थान र सिमकार्ड ४ थान बरामद गरेको छ । उनी उपर जिल्ला अदालत काठमाडौँबाट चार दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।






